‘प्रमाण नभएकालाई खोजी-खोजी दुःख दिइयो, भ्रष्टाचारका फाइल खोल्ने हो भने रास्वपाका सांसदको खोलियोस्’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा उनले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै यस बारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे।
लामिछाने अकुत सम्पत्ति र सहकारी ठगीमा अनुसन्धानको दायरामा छन्। सम्पत्ति शुद्धीकरण विभाग र जिल्ला प्रहरी परिसर कास्कीले उनीबारे अनुसन्धान गरिरहेका छन्।
संसदमा उनले भने ‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भए पनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ।’
उनले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट सुरू गर्न चुनौती दिए। उनले अब अरू पार्टीका फाइल नखोल्न समेत आग्रह सरकारलाई व्यङ्ग्य गरेका छन्।
उनले भने, ‘हामी बुझ्दछौँ गठबन्धनको पीडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट मात्र हुँदाको पीडा, हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नुपरेको पीडा, जसको सत्ता टिकाउनका लागि आधार नबनोस्।’
फागुन ६, २०८० आइतबार १२:४९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।