समाजवादी मोर्चाको संयोजकमा विप्लव

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं : समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' चयन भएका छन्।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

उनले बैठकमा समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए।

उनले भने, 'समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो। थुप्रै त्रुटीहरू छन्, ती त्रुटीहरूको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ। मोर्चा जति गतिशील र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ। त्यसको लागि शीर्ष नेताको बीचमा घनीभूत रूपमा छलफल हुनुपर्छ भन्ने छ। मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो। अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ।'

महासचिव गुरुङले बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति समेत भएको बताए।

फागुन ६, २०८० आइतबार ११:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।