आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि प्रतिनिधिसभा बैठक बस्दैछ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सांसदहरूसँग प्रश्नोत्तर हुने छ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यसपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने कार्यसूचीमा उल्लेख छ। प्रश्नोत्तरको निम्ति गगन थापा, गोकर्ण विष्ट लगायतका सांसदले प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न नाम टिपाइसकेका छन्।

आजकै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको छ।

आजै प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो शंसोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

त्यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ। अर्थमन्त्री महतले नै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक,२०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजकै बैठकमा राखिएको छ।

फागुन ६, २०८० आइतबार ०८:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।