दलित नेता तथा अगुवाहरूको एकै स्वर : ‘अधिकारको लागि ६० लाख दलित एकजुट भएर लड्नुपर्छ’

दलित नेता तथा अगुवाहरूको एकै स्वर : ‘अधिकारको लागि ६० लाख दलित एकजुट भएर लड्नुपर्छ’

काठमाडौं : विभिन्न दलका दलित नेता तथा अगुवाहरूले आफ्नो समुदायगत उत्पीडनको लडाइमा एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंको संवाद डबलीमा समता समाज नेपालले आयोजना गरेको समाजवादी आन्दोलनमा दलित विमर्श विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले ६० लाखको बाहुल्यता भएको दलित समुदाय एक हुने सुत्र खोज्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

माओवादी केन्द्र कर्णाली प्रदेश संसदिय दलका सचेतक रणसिंह परियारले दलितले आफ्नो अधिकारको लागि एकजुट नहुँदा उत्पीडन खेप्नु परेको बताए। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका परियारले जुनसुकै पार्टीमा रहे पनि दलित अधिकारको लागि एकीकृत भएर लड्नुपर्ने धारणा राखेका थिए।

परियारले १३ सयभन्दा बढी दलितले वर्तमान परिवर्तनका खातिर जनयुद्धमा बलिदान गरेर ल्याएको आजको व्यवस्थामा पनि दलितहरूले कहालीलाग्दो उत्पीडन खेप्नु परेकोमा दुःख व्यक्त गरे।

जनता समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले देशमा विशाल संख्यासहितको बाहुल्यता भएको दलित समुदाय एकजुट नभएका कारण अधिकारबाट च्यूत भएको तर्क गरे।

उनले अधिकार मागेर नभई बरू खोस्नु पर्ने बताउँदै नेपालमा जतिसुकै परिवर्तन आए पनि आदिवासी–जनजाति र दलितलाई हर्ष न बिस्मात भएको टिप्पणी गरे।

उनले भने, 'तपाईँहरू काँग्रेस, माओवादी र एमालेका झोले भएर बसे कहिल्यै अधिकार पाउनु हुन्न, तपाईंहरूले पनि पार्टी खोल्नुस्।'

यता, पूर्व राजदूत डा.निर्मल विश्वकर्माले नेपालका कम्युनिस्टहरूले साम्यवादको नारा दिएर लडे पनि संघर्षपछि उनीहरू सामन्ती व्यवस्थाका पुजारी भएको आरोप लगाए। विश्वकर्माले संविधानमा समाजवाद उन्मुख भनिए पनि त्यतातिर भन्दा उल्टो तिर लागेको जिकिर गरे।

जनता समाजवादी पार्टीका पोलिटब्युरो सदस्य चन्देश्वर पासवानले एकल ब्राह्मणवादी नेपाली समाजको रुपान्तरणको लागि चाँडै मधेशमा विद्रोह हुने चेतावनी दिए।

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले २००३ सालदेखि नेपाली कांग्रेस र ६ सालदेखि कम्युनिस्टको नाममा हिन्दु बर्णासन व्यवस्थाको कारण दलित उत्पीडनको जाँतोमा पिसिरहेको बताए।

त्यस्तै, समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर बिकले मनुवादी जात व्यवस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको बताए। बिकले २१ औं शताब्दीमा जनावरको अधिकार रक्षाको कुराको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यबहार खेप्नु दुर्भाग्य भएको बताए।

भारतको परिसंघ दिल्लीका महासचिव डा.ओम सुधाले हिन्दुवादी जातीय वर्णव्यवस्थाको कारण सम्पूर्ण दलितले चाहे भारत या चाहे नेपालमा ठूलो कष्ट भोग्नु परेको बताएका छन्।

भारतको भिम सैनिक दलका अध्यक्ष चन्दन कुमार पासवानले आफूहरूले भारत होस् या नेपाल दुबै देशमा कथित उच र नीच जातीय व्यवस्थाबाट उत्पीडित जनताको लागि आवाज उठाइरहेको बताए। 

उनले भने, 'देश होस् चाहे विदेश सबै तिरका दलित एक भएर लड्नुको विकल्प छैन।' 

श्रमिक जनता पार्टी अध्यक्ष दुर्गा बराईली जहिले पनि सत्ता र शक्तिमा ब्राम्हणहरू हाबी हुने र दलितलाई झनै उत्पीडन दिने भएकोले लडाइ त्यतैतिर तेर्स्याउन जरुरी भएको बताए।

तराई मधेश–महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साहले हरेक दलित जागरुक बनेको खण्डमा वर्तमान उत्पीडनरुपी समाजको रुपरेखा बदल्न सकिने बताइन्।

समता समाज नेपालका कार्यक्रम संयोजक प्रदिप घतालले दलितको योगदानबाट सत्तामा पुगेकाहरू मालिक बन्ने र पछि उनीहरूले वेवास्ता गर्ने भएकाले आफैले अधिकारको लागि लड्नुपर्ने धारणा राखेका थिए।

फागुन ५, २०८० शनिबार १९:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।