डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना तिर्न अदालतको आदेश

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना तिर्न अदालतको आदेश

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा तीन सय ५५ मिलियन डलर जरिवनाको सजाय सुनाइएको छ।

न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा तीन सय ५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो। अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ।

अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको छ। फैसला अनुसार अदालतले ट्रम्पलाई न्युयोर्कस्थित कम्पनीमा निर्देशकको रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। उनीहरूले तीन वर्षसम्म कम्पनीको सञ्चालक बन्न पाउने छैनन्।

अदालतले डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई ४० लाख अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ। साथै, ट्रम्पका दुवै छोराले न्युयोर्कको एउटा कम्पनीमा दुई वर्षसम्म निर्देशकको रूपमा काम गर्न पाउँदैनन्।

महान्यायाधिवक्ताको कार्यालयले न्यायाधीशलाई डोनाल्ड ट्रम्पलाई ३७० मिलियन अमेरिकी डलर तिराउन माग गरेको थियो। तर, अदालतले ट्रम्पलाई ३५४.८ मिलियन अमेरिकी डलर जरिवाना तोकेको हो।

मुद्दाको सुनुवाइ दुई महिना भन्दा बढी चलेको थियो, जसमा ट्रम्प, ट्रम्पको कम्पनीका शीर्ष अधिकारी र ट्रम्पका छोराहरूसहित ४० साक्षीहरू अदालतमा उपस्थित थिए।

यसअघि अदालतले कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकृत एलेन वेसेलबर्गलाई पनि १० लाख अमेरिकी डलर तिर्न आदेश दिएको थियो। उनलाई तीन वर्षसम्म कम्पनीमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ।

ट्रम्पका वकिलहरूले अदालतको यो निर्णयलाई अन्यायपूर्ण भनेका छन्। आदेश राजनीतिबाट प्रेरित भएको उनीहरूको तर्क छ।

फागुन ५, २०८० शनिबार ०८:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।