दुई युवाको ज्यान गएको बालकुमारी घटनाको मुख्य दोषी मन्त्री ज्वाला

दुई युवाको ज्यान गएको बालकुमारी घटनाको मुख्य दोषी मन्त्री ज्वाला

काठमाडौँ : बालकुमारी घटना छानबिन आयोगले मन्त्री प्रकाश ज्वाला र उनको पर्सनल सेक्युरिटी गार्ड(पिएसओ) र फिल्ड कमान्डर डिएसपी उमेश लम्सालको कारण दुई जनाको ज्यान जानेगरि घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।

शुक्रवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा सरकारी चालक प्रयोग नगरी व्यक्तिगत चालक प्रयोग गरेको, गलत दिशामा गएको, प्रदर्शनस्थलमा पुगेर संवेदनशील नभएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको गृहस्रोतले बतायो।

पुस १३ गते कोरियाको युपिएस परीक्षाबारे विवादकाक्रममा भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

घटनाको विरोधपछि मन्त्रिपरिषद्ले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए।

प्रतिवेदनमा डिएसपी लम्सालले मन्त्री पुग्नु अगाडि नै अनावश्यक बल प्रयोग गरेको, मन्त्री आएको समेत जानकारी नभएको औँल्याएको छ। पिएसओले मन्त्रीको यात्रा रुट तय गर्न पहिल्यै जानकारी नलिएको, रुट क्लियरेन्स नलिएको, मन्त्रीको गाडी रोकिएपछि अपनाउनुपर्ने सुरक्षा सावधानी नअपनाएको उल्लेख छ।

आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको उल्लेख छ।

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं. गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसिटिभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसिटिभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

फागुन ४, २०८० शुक्रबार २३:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।