सरकारको निरंकुश यात्रा निरन्तर, निषेधाज्ञाको अवधि दुई महिना थपियो

सरकारको निरंकुश यात्रा निरन्तर, निषेधाज्ञाको अवधि दुई महिना थपियो

काठमाडौँ : सरकारले माइतीघर लगायतका क्षेत्रमा धर्ना-प्रदर्शनमा रोक लगाएकोमा निरन्तर विरोधहुँदै आएको छ। चित्त नबुझेको विषयमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन भएकोमा विरोध भए पनि सरकार भने निशेधाज्ञा लम्ब्याउन सक्रिय छ।

सरकारले दुर्गा प्रसाईँ र युवा संघको विरोध प्रदर्शनको बेलामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाएको थियो। प्रदर्शन सकिए पनि निषेधाज्ञा हटेन। थप लम्ब्याए। लम्ब्याउने क्रम जारी छ।

शुक्रवार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा लागू गरेको निषेधित क्षेत्र तोकिएका स्थानको अवधि दुई महिना लम्ब्याउने निर्णय गर्यो। माइतीघरसहितको क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगायो।

स्थानीय प्रशासनले जारी गरेको सूचनामा फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अति विशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको उल्लेख छ।

राष्ट्रपति कार्यालय शीतल निवासको पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्मको निषेध जारी राखिएको छ।

यसैगरि प्रधानमन्त्री निवास बालुवाटारको पुरानो पवित्र वर्कसप चोकबाट रसियन राजदूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ एक सय मिटर र इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकियो।

बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख गरिएको छ।

फागुन ४, २०८० शुक्रबार २२:०६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।