हिरोको बिग्रएको बजार सुधार्दै सिजी, पाटपूर्जाको अभाव हट्न एक महिना लाग्ने

हिरोको बिग्रएको बजार सुधार्दै सिजी, पाटपूर्जाको अभाव हट्न एक महिना लाग्ने

काठमाडौँ : हिरो मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा पाएको सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस सुधार्ने तयारी गरेको छ।

आधिकारिक वितरकबारे लामो समय विवाद हुँदा हिरो मोटरसाइकलका प्रयोगकर्ताले आफ्टर सेल्स सर्भिसमा समस्या पाउँदै आएका थिए। मोटरसाइकल बिग्रिएमा बनाउन पार्टपुर्जा समेत नपाउने अवस्था थियो।

 यस अगाडि नेपालमा रूप ज्योतिले हिरोको बिक्री गर्दै आएको थियो।  हिरो मोटोकर्पले ज्योति समूहबाट आधिकारिक विक्रेता खोसेर चौधरी समूहलाई दिएको थियो। आधिकारिक विक्रेताको मान्यता पाएपछि अहिले चौधरी समूह बिग्रीएको हिरोको बजार सुधार्न केन्द्रित देखियो। हिरोको उत्पादक र नेपालको वितरकविच लामो समयदेखि कानुन लडाई चल्दा नेपालमा लोकप्रिय रहेको हिरो ब्राण्डको प्रभाव प्रभावित भएको थियो। 

सिजी मोटर्सले पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ। सिजी मोटर्सका अनुसार मोटरसाइकल र स्कुटरको पार्टपुर्जाहरू सहजै बजारमा पाउन फागुन कुर्नुपर्ने देखिन्छ।

‘अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरूमा पार्टपुर्जाहरू सहज रूपमा उपलब्ध हुनेछ’ सिजी मोटर्सले बतायो। पार्टपुर्जा सहज बनाउन आफ्नै वेयरहाउस तयार भइरहेको र पार्टपुर्जा आयात गर्न प्रतितपत्र (एलसी) खोलिसकेको उसले जानकारी दिएको छ।

‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहँदैन’ सिजी मोटर्सका सेल्स एन्ड अपरेसन विभागका जिएम प्रकाश देवकोटाले भने।

फागुन ४, २०८० शुक्रबार १८:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।