विज्ञहरू भन्छन् 'अर्थतन्त्रमा सुधार देखियो तर सङ्कट टरेको छैन’
पोखरा : अर्थमन्त्रीका आर्थिक सल्लाहकार गुणाकर भट्टले अर्थतन्त्र सुधार भइरहेको दाबी गरे। पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रवार अर्थतन्त्र : तङ्ग्रिन्छ की लड्छ ? भन्ने विषयको छलफलमा उनले २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितिमा दबाब रहेको भन्दै अहिले त्यसमा सुधार आएको बताए।
‘गत वर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिति १० अर्ब २८ करोड डलर थियो। अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिति छ’, उनले भने, ‘२ वर्ष अगाडि यही बेला नेपाल कतै श्रीलङ्का त बन्दैन भनेर नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो। हामी त्यहाँबाट माथि उठेको अवस्था छ। एउटा महत्त्वपूर्ण आधार विदेशी विनिमय सञ्चिति हो।’
उनले ३ खर्बको पेट्रोलियम पदार्थ आयात गरिरहेको र ४ खर्बको हाराहारीमा खाद्यान्न आयत गरिरहेको बताउँदै यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै घट्ने बित्तिकै अर्थतन्त्र हल्लिने बताए।
उनले अहिले त्यो सङ्कटबाट बाहिर निस्किएको अवस्था रहेको उनको धारणा थियो। डेढ-दुई वर्ष अगाडि बैङ्कहरूसँग कर्जा दिने पैसा नभएको भन्दै उनले गत वर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत रहेकोमा कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको बताए।
‘बैङ्कहरूसँग बढी भएको पैसा करिब एक खर्ब राष्ट्र बैङ्कले तानेर राख्न परेको छ। ब्याजदर तल आइरहेको छ’, भट्टले भने, ‘तुलनात्मक रूपमा मौद्रिक क्षेत्र र वित्तीय क्षेत्र राम्रो अवस्थामा देखिएको छ।'
उनले गत वर्ष बैङ्कहरूले ६ महिना १ सय ३७ अर्ब कर्जा प्रवाह गरेको र अहिले ६ महिनाको कर्जा प्रवाह १ सय ९३ अर्ब देखिएको बताए।
उनले सरकारको वित्त व्यवस्थापन भने चुनौतीपूर्ण देखिरहेको बताए। सरकारको राजस्व असुली गत वर्षको तुलनामा केही सुधार भए पनि अपेक्षित रूपमा हुन नसकिरहेको, आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसकेको भन्दै उनले पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको जानकारी दिए।
‘हामीले ६ प्रतिशतको अपेक्षा गरेका थियौँ। आम मान्छेले महसुस गर्ने मुद्रास्फीति मूल्य वृद्धि पनि उच्च छ’ उनले भने।
व्यवसायी निरञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र विगत २ दशकदेखि धर्मराउदै तङ्ग्रिरहेको बताउँदै ठोस काम नगरे यस्तै धर्मराउने बताए। अहिले निजी क्षेत्र निकै निराश रहेको भन्दै उनले बजारमा व्यापार एकदम तल आएको, मागको कमी रहेको बताए।
बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक रूपमा माग बढाउने काम गर्नुपर्ने भन्दै उनले अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात हुने बताए।
अर्का विज्ञ भुवन दाहालले अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैङ्क तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिने बताए। अहिले निष्क्रिय कर्जा बढेको भन्दै उनले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शङ्का नरहेको बताए।
निजी क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकरणमा लाग्नुपर्ने उनले बताए। ‘दक्षिण एसियाको तथ्याङ्कमा प्रतिव्यक्ति आयमा हामी अफगानिस्तानभन्दा माथि छौँ। बङ्गलादेशको हाम्रो भन्दा दोब्बर छ। हाम्रो र त्यहाँको क्षेत्रफल एउटै हो। जनसङ्ख्याको हाम्रोभन्दा ५ गुण बढी छ।’
नेपालमा समस्याहरू रहेको र समस्याका कारण पनि थाहा भएको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैङ्क, निजी क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गर्नुपर्ने हो भनेर रोडम्याप कोरेर काम गर्न उनले सुझाव दिए।
फागुन ४, २०८० शुक्रबार १७:२१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।