महिला प्रिमियर कप टी–२० मा हन्टरलाई रोक्न नसक्दा नेपाल सेमिफाइनलबाट आउट

महिला प्रिमियर कप टी–२० मा हन्टरलाई रोक्न नसक्दा नेपाल सेमिफाइनलबाट आउट

काठमाडौँ : मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। शुक्रवार भएको सेमिफाइनलमा आयोजक राष्ट्र मलेसियासँग नेपाल ४ विकेटले पराजित भएर सेमिफाइनलबाट बाहिरियो।

नेपालले मलेसियालाई १ सय १६ रनको चुनौती दिएको थियो। मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो।

मलेसियाको एल्सा हन्टरले हन्टर नेपाल फाइनलमा जाने बाटोको अवरोधक बनिन्। उनले ५३ बलमा अविजित रहँदै ६९ रन बनाएकी थिइन्। अन्तिम ओभरमा ११ रन बनाएर मलेसियाले नेपाललाई फाइनलमा पुग्न दिएन।

नेपालका कविता जोशी र सीता रानामगरले २-२ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले १-१ विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो।

नेपालको तर्फबाट कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाएकी थिइन्। मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिएकी थिइन्। नेपालका तीन खेलाडी रनआउट भएका थिए।

बिहान भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई हराएर फाइनलमा गइसकेको छ। मलेसियाले आइतबार युएईसँग फाइनल खेल्नेछ।

फागुन ४, २०८० शुक्रबार १६:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।