‘उपहार’मा रेखा र मुकुनको प्रेम, ट्रेलरकै दृश्यमा मिलेन पूजाको डबिङ

‘उपहार’मा रेखा र मुकुनको प्रेम, ट्रेलरकै दृश्यमा मिलेन पूजाको डबिङ

काठमाडौं : फिल्मको प्रदर्शन मिति जाँदा रेखा थापाले शुक्रबार फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिन्।

ट्रेलरमा स्थानीय तहले फुटपाथ मिचेर निर्माण गरिएका संरचना भत्काएपछिको उत्पन्न परिस्थितिलाई चित्रण गर्न खोजिएको छ। फुटपाथ व्यापारीका सामान नगर प्रहरीले उठाएर लगेपछिको अवस्था ट्रेलरमा देखाइएको छ।

ट्रेलर हेर्दा फिल्ममा अभिनेत्री थापालाई चियावालीको रूपमा प्रस्तुत गरिएको छ। अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरको रूपमा प्रस्तुत भएका छन्। यी दुईबीचको प्रेम ट्रेलरमा देखाइएको छ।

अभिनेत्री रेखा थापाकै श्रीमान बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेका छन्।

फिल्ममा रेखा र मुकुनको अलावा पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, सुष्मा कार्की, समर्पणजंग कार्की, शिशिर राणा, राजाराम पौडेल लगायतको भूमिका छ।

रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ।

तीन मिनेट लामो ट्रेलरमा कतिपय संवादहरूको डबिङ राम्रोसँग मिलेको देखिँदैन। ५३ सेकेण्डमा अभिनेत्री पूजा शर्माले बोलेको ‘जय नारी, जय नारी, यो धर्तीको भारी’ भन्ने डाइलगमा पूजाको अडियो र भिडियो मेल खाँदैन।

तीन मिनेटको ट्रेलरमै देखिएको चुक फिल्ममा कति ठाउँमा देखिने हो, त्यो भने फागुन २५ गते प्रदर्शन भएपछि मात्रै भन्न सकिन्छ।

यद्यपि प्रदर्शनमा आउनुअघि नै निर्माण टिमले फिल्ममा भएका यस्ता स-साना त्रुटीहरू सच्याए राम्रो। 

फागुन ४, २०८० शुक्रबार १४:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।