९ वर्षीया प्रिति, जसले बुवा गुमाएको पीडालाई गीत बनाएर गाउँदा रसाए सबैका आँखा
सुर्खेत : बिहीबार बिहान १० बजेतिर पश्चिम सुर्खेतको पञ्चपुरी नगरापालिका–८ दुलालथाई स्थित जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरू प्रार्थना समयमा व्यस्त थिए।
राष्ट्रिय गान गाइसकेपछि विद्यालयमा सधैं जसो गरिने हाजिरीजबाफ प्रतियोगिता थियो। हाजिरीजबाफमा प्रश्न भन्ने पालो आज कक्षा तीनको थियो।
कक्षा तीनका विद्यार्थीले प्रश्न सोधिरहँदा लाइनमा बसेका कक्षा ८ सम्मका विद्यार्थीले उत्तर दिए।
उक्त प्रतियोगिता सकिए लगत्तै कक्षा तीनमा अध्ययनरत ९ वर्षीया छात्रा प्रिति विकले हात उठाइन्। आफूलाई मञ्चमा आउने अनुमति सरहरूसँग मागिन्। त्यसपछि उनले आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतका शब्द मार्फत फुकाउन थालिन्।
गीत गाउँदै मञ्चमै रुन लागेकी उनलाई देखेर विद्यालयका अन्य विद्यार्थी र शिक्षक कर्मचारीहरूका समेत आँखा रसाए।
उनले गाएको उक्त भावुक गीत विद्यालयका सूचना अधिकारी शिक्षक लक्ष्मी सापकोटाले मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गरे।
विभिन्न समस्याका बावजुत पनि उनी विद्यालयमा पढ्न आउने गरेकी रहेछिन्। उनको पारिवारिक अवस्था निकै दयनीय भएर आफ्नो गीत मार्फत् वेदना सुनाएपछि सबै जना भावुक भएको विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेले बताए।
‘घरायसी रुपमा आर्थिक अवस्था एकदमै कमजोरी रहेछ। उनले तीन दिनदेखि नै मलाई गीत गाउन दिनुपर्यो भनेर अनुरोध गरेकी थिइन्। मैले पनि ठिक छ अब अर्को दिन शुक्रबारे गतिविधिमा गाउली भनेको थिएँ,’ प्रधानाध्यापक घिमिरेले भने, ‘बिहान प्रार्थना गरेर राष्ट्रिय गान गाइसकेपछि कुइजको कार्यक्रम गर्दैगर्दा उनले गीत गाउन दिन समय मागेपछि हामीले मौका दियौँ। एक्कासी यस्तो भावुक गीत गाउँदा हामीले समेत आँसु रोक्न सकेनौं।’
प्रधानाध्यापक घिमिरेका अनुसार बालिकाको बुवाको मृत्यु भएको दुई वर्ष आजैका दिन पुगेको रहेछ। उनका बुवाको बाकसमा लास ल्याइएको रहेछ। त्यही घटनालाई उनले गीतमार्फत् व्यक्त गरेकी रहिछिन्।
आफू र आफ्नो परिवारले भागेका संघर्ष दुःखहरूलाई भुलाउँदै उनले स्वर्गीय बुवालाई सन्देश दिन यस्तो गीत गाएकी रहेछिन्।
प्रितिका बुवा दीपककोे ३३ वर्षकै उमेरमा दुई वर्ष पहिले मृगौला रोगका कारण मृत्यु भएको हो। भएको दुई रोपनी जमिन पनि दिपककै उपचारमा बिक्री गर्नुपर्यो। अहिले प्रितिकी २४ वर्षीया आमा कमला विकले पाँच सन्तानलाई साँझ बिहानको छाक र पढाउनकै लागि गिट्टी कुट्छिन्।
प्रितिका चार दिदी र एक भाइ छन्। उनी चार बहिनीमध्येकी कान्छी हुन्।
सम्पत्तिका नाममा एउटा खरले छाएको कच्ची घर मात्रै रहेकोले केटाकेटी पालनपोषणमै समस्या परेको कमला सुनाउँछिन्।
‘पहिला भारत गएर जिविका चलाउँथ्यौँ। एकाएक श्रीमानलाई मृगौलाको रोग लाग्यो। भएको दुई रोपनी पनि उपचारमै गयो,’ कल्पनाले भनिन्, ‘उहाँको मृत्यु भएपछि यी केटाकेटी पालन पोषणमै समस्या भएको छ।’
विद्यालयमा अनुशासित र मिहिनेती छात्रा रहेकी प्रितिले पढेर सरकारी जागिर खाने सपना देखेकी छिन्।
उनलाई विद्यालयबाट समेत शैक्षिक सामग्री सहयोग गर्दै आएको प्रधानाध्यापक घिमिरेले बताए।
प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ कक्षासम्म जम्मा ३७६ जना विद्यार्थी रहेका छन्। जसमध्ये ७० प्रतिशत बालबालिका दलित समुदायका छन्। ३० प्रतिशत बालबालिकाको पनि आर्थिक अवस्था कमजोर रहेको छ।
फागुन ३, २०८० बिहीबार २२:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।