ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीसहित सचिव अधिकारीलाई सफाइ

ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीसहित सचिव अधिकारीलाई सफाइ

काठमाडौं : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र तत्कालीन भूमिसचिव दिनेशहरी अधिकारीलाई सफाइ दिएको छ।

२३ दिन लगातार सुनुवाइ गरेर विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज फैसला सुनाउँदै उनीहरूलाई सफाइ दिएको हो।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो।

यस प्रकरणमा उनीमाथि ९ करोड ६५ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि नक्कली मोही खडा गरि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको आरोप थियो।

त्यस्तै, सफाइ पाएका पूर्वभूमिसुधार मन्त्री जोशीविरुद्व सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा मुद्दा दायर गरेको थियो।

अर्का सफाइ पाउने हाइप्रोफाइल मध्येका पूर्वभूमिसुधार मन्त्री श्रेष्ठले सरकारी निवास सट्टाभर्ना टिप्पणी सदर गरेको भूमिकामा देखिएको आरोप उनीमाथि थियो।

यता, प्रतिवादी बनाइएका ११० जना मध्ये तत्कालीन भूमिसुधार सचिव अधिकारीले समेत सफाइ पाएका छन्।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ।

फागुन ३, २०८० बिहीबार २०:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।