राष्ट्रहित विपरीत काम गरेको भन्दै एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

राष्ट्रहित विपरीत काम गरेको भन्दै एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं : एमालेको आज बसेको २७ औँ सचिवालय बैठकले सातौँ केन्द्रीय समिति बैठक यही फागुन ८, ९ र १० गतेलाई बोलाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ। राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए।

त्यस्तै, पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ।

एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ।

महासचिव पोखरेलले भने, ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ।’

एमालेले केन्द्रीय कार्यालय भवन बनाउन सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ सङ्कलन गर्ने निर्णय समेत गरेको छ।

महासचिव पोखरेलले भने, ‘प्रचार तथा प्रकाशन विभागमा तीनजना थप्ने निर्णय भएको छ। जसमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका छन्।’

फागुन ३, २०८० बिहीबार १९:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।