इन्द्रेणी कलाकारले उद्धारक देखिने कृष्ण कँडेलको पोल खोले, शारीरिक र मानसिक यातना दिएको आरोप
काठमाडौं : टेलिभिजन हुँदै अहिले युट्युबमा लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ कार्यक्रम चलाउँदै समाजसेवा भन्दै पैसा उठाउने धन्दा नौलो हैन कृष्ण कँडेलको।
लामै समय भयो उनले कार्यक्रमको आवरणमा यस्तो धन्दा चलाएको। इन्द्रेणी कार्यक्रम लिएर स्टेज, स्वदेश अनि विदेशबाट समेत रकम सङ्कलन गर्छन् उनी। तर, त्यसरी उठेको पैसा उनले कहाँ खर्च गरे कहिल्यै पारदर्शी रूपमा हिसाब सार्वजनिक गर्दैनन्।
टेलिभिजनमा लोकदोहोरी कार्यक्रम हुँदै युट्युबमा कार्यक्रम चलाउने उनले आफूलाई समाजसेवीको आवरणमा ढाल्दै गए। पीडामा परेकाहरूको उद्धारक झैँ बने। तर अहिले आएर उनकै इन्द्रेणी समूहका सदस्यहरू कँडेलले अन्याय गरे भन्दै सामाजिक सञ्जालमा लाइभमा आएर रुँदैछन्।
केहीले कँडेलको राणा शैलीको निरङ्कुश व्यवहारबारे बोले, केही मानसिक यातना पाएको भन्दै रोए। केहीले इन्द्रेणीका लागि मादल बजाउँदा हातमा परेका ढेला देखाउँदै सोधे, ‘किन यस्तो अन्याय गरेको?’
शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण प्रसाद कँडेल, लक्ष्मीप्रसाद घिमिरे लगायतले फेसबुक लाइभबाट इन्द्रेणीका सञ्चालक कँडेलबाट पीडित भएको खुलाए। यीमध्ये खगेन्द्र विश्वकर्माले इन्द्रेणी कार्यक्रममै १२ वर्ष गीत गाएर बिताइसकेका छन् भने शर्मिलाले ६ वर्ष।
इन्द्रेणीमार्फत आफूलाई पिडा दिएको आरोप लगाउँदै गायिका शर्मिला श्रेष्ठले भनिन्,‘ गाउन सक्दा गाएँ। नाच्न सक्दा नाचेँ र धेरै पिडाहरू लुकाएँ। हिजोको जस्तो परिस्थिति आज छैन। हिजोका ती परिस्थिति सामान गर्दै यहाँसम्म आइपुगेका छौँ। र फेसबुक लाइभसम्म जानुपर्ने बाध्यतामा आइपुग्नुपर्ने अवस्था आयो।’
उनले आफ्नो आमाले कृष्ण कँडेललाई भगवान् जस्तो मान्ने भएर काम नछोड भनेकाले हेपिएर, पेलिएर इन्द्रेणीमा काम गरेको बताइन्। अति भएपछि आफूले आमाको बचनलाई काट्दै इन्द्रेणी छोड्नु परेको पीडा पोखिन् उनले।
उनले दर्शकलाई गाली नगर्न आग्रह समेत गरेकी छन्। पिडा धेरै भएपछि अहिले त्यो सहन नसकेर निदाउने औषधी खाएर सुत्नु परेको उनले बताइन्।
उनी भन्छिन्,‘ जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला। तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिन। औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ।’
उनीसँगै इन्द्रेणी कार्यक्रम सञ्चालक कँडेलबाट पीडित बनेका खगेन्द्र विश्वकर्माको भनाई पनि उस्तै छ। उनले त झन् इन्द्रेणीमा काम गर्न थालेको १२ वर्ष नै भइसकेको रहेछ।
उनी आफ्नो पिडा सुनाउँदै भन्छन्,‘१०,१२ वर्ष देखि यो महँगो सहरमा सङ्घर्षहरू सबैलाई थाहा छ। यी सबै भन्न बाध्य कहाँ नेर भयो भने, बुढी मरेको होइन, काल पल्कियो। सिकार भएको जस्तो फिल भएर छ। मलाई लागेको थियो यतिका वर्ष योगदान गरेपछि मेरो पनि कुनै न कुनै दिन कदर होला।’
गरिब दुखीका लागि पैसा उठाउँदै आएको इन्द्रेणी कार्यक्रम गरिब दुखीको संस्था नभएको उनले दाबी गरे।
‘मैले दशौँ वर्ष काम गरिसकेको ठाउँमा झन् पुरस्कृत हुनुपर्नेमा अपमानित भएर,तिरस्कृत हुनुपर्ने अवस्थामा आइपुगेँ। म धेरै दुखी छु।’
खगेन्द्रसँगै अर्का इन्द्रेणीकै गायक पूर्ण कँडेलले पनि आफूले भोगेको समस्या शर्मिला र खगेन्द्रकै जस्तो भएको बताए।
उनी आफू बाहिरिनुको कारणबारे सुनाउँदै भन्छन्,‘केही समय अघिबाट हामी बाध्यात्मक परिस्थितिबाट त्यहाँबाट निस्किनु पर्यो। त्यहाँ हामीलाई अलिकति भनूँन न,नियम कानुनको कुरा हामीले इन्द्रेणीमा काम गर्ने नै हो छोड्ने होइन भनाइयो। त्यसलाई ठिकै छ भनेर स्वीकार गरियो। कस्ता नियम कानुनका कुरा,कागजीमा पनि भए। तर हामीलाई त्यहाँ एकोहोरो तरिकाले नियम लादियो।’
उनले बाध्य बनाएर कागजमा हस्ताक्षर गराएको खुलाए पनि के लेखिएको कागजमा हस्ताक्षर गराएको भन्ने खुलाएका छैनन्।
घटना के हो? यसबारे उकेराले शर्मिला श्रेष्ठसँग सम्पर्क गरेको थियो। तर उनले आफूहरूको भनाई सामाजिक सञ्जालमा जति आएको हो त्यति नै भएको बताएर थप कुरा गर्न चाहिनन्।
यसबारे थप बुझ्न इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन्।
फागुन ३, २०८० बिहीबार १८:११:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।