जापानलाई पछि पार्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

जापानलाई पछि पार्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एजेन्सी : जापानलाई पछि पार्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ।

सन् २०२३ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको जापानलाई जर्मनीले उछिनेको हो। यस् अवधिमा जर्मनीको कुल गार्हस्थ उत्पादन कुल ४.४६ ट्रिलियन डलर कायम भएको छ।

जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको संकुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले त्यहाँको आर्थिक मन्दीलाई संकेत गरेको छ। कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्यांकले देखाएको हो।

जापान सरकारको प्रारम्भिक तथ्यांकले त्यहाँ उत्पादित वस्तु तथा सेवाको कुल मूल्य वास्तविक जीडीपी अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको छ।

क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको हो।

जापानको कुल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ भने व्यावसायिक लगानी पनि ०.१ प्रतिशतले खुम्चिएको छ। त्यस्तै, आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.६ प्रतिशतले बढेको छ।

३ फागुन, २०८०, १५:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।