९३ प्रतिशत नेपालीको घरमा मोबाइल, कम्प्युटर प्रयोग गर्नेको संख्या न्यून

९३ प्रतिशत नेपालीको घरमा मोबाइल, कम्प्युटर प्रयोग गर्नेको संख्या न्यून

काठमाडौं : बाह्र वर्षको अन्तरालमा फोन प्रयोग गर्ने नेपालीको संख्या ९३ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०११ मा ६१.७९ प्रतिशत घरमा मात्र फोन रहेकोमा अहिले टेलिफोन एवं मोबाइलको प्रयोग गर्ने नेपालीको संख्या ९३.५५ प्रतिशत पुगेको हो।

चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नेपालीले खाद्य पदार्थमा गर्ने खर्च भने घटेको छ। उपभोग खर्च अखाद्य पदार्थमा बढेको छ।

०६६/०६७ मा ३८ प्रतिशत रहेको गैर-खाद्यवस्तु उपभोग ०७९/०८० मा ४७ प्रतिशत पुगेको छ। यस अवधिमा खाद्य वस्तुको उपभोग भने ६२ प्रतिशतबाट ५३ प्रतिशतमा झरेको छ।

औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च सबैभन्दा बढी काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा २ लाख ६३ हजार ३१८ रुपैयाँ रहेको छ। सबैभन्दा कम मधेश प्रदेशको ग्रामीण क्षेत्रमा ७१ हजार ८२८ रुपैयाँ रहेको छ।

तथ्यांक अनुसार सन् २०११ मा ०.८२ प्रतिशत घरमा कारको प्रयोग हुँदा सन् २०२३ मा १.८५ प्रतिशत घरमा कार छ। यो अवधिमा कम्प्युटर ६.०३ घरबाट ८.७७ घरमा उपलब्ध रहेको तथ्यांक छ।

सन् २०११ मा ९.१८ प्रतिशत घरपरिवारमा बाइक हुँदा अहिले २५.१५ प्रतिशत घरमा उपलब्ध छ। रेफ्रिजेरेटरको प्रयोग ८.६१ प्रतिशत घरधुरीबाट बढेर २६.८९ प्रतिशत घरधुरीमा प्रयोग भएको छ। पंखाको प्रयोग ३३.९७ प्रतिशतबाट बढेर ६०.८५ प्रतिशत घरधुरीमा पुगेको छ।

९४ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको सर्वेक्षणले देखाएको छ। घरबाट औसतमा नजिकको अस्पतालको दूरी ९.३ किलोमिटर र पक्की रोडमा पुगिने औसत दूरी घरबाट ४.१६ किलोमिटर रहेको छ।

सर्वेक्षणले खाद्य गरिबीको सीमा ३५ हजार २९ रुपैयाँ र गैरखाद्य गरिबीको सीमा ३७ हजार ८७९ रुपैयाँ देखाएको छ।

समग्र गरिबीको सीमा भने ७२ हजार ९०८ रुपैयाँ पुगेको छ। जसअनुसार गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत पुगेको छ।

गरिबी दर सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको छ। गरिबीको विषमता भने ४.५२ प्रतिशत रहेको छ।

देशभरको प्रतिनिधित्व हुनेगरी गरिएको सर्वेक्षणमा ९ हजार ६०० घरपरिवार संलग्न रहेको तथ्यांक कार्यालयले जनाएको छ।

फागुन ३, २०८० बिहीबार १४:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।