मुक्तिनाथ र सप्तकोसीको सिइओमाथि राष्ट्र बैङ्कको कारबाही, नारायणी विकास बैङ्कलाई जरिवाना, तीन फाइनान्सलाई सचेत गरायो
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले मुक्तिनाथ विकास बैङ्क, सप्तकोसी विकास बैङ्क र नारायणी डेभलपमेन्ट बैङ्कसहित अन्य तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।
व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको भन्दै बैङ्कले मुक्तिनाथको सिइओ प्रध्युम्न पोखरेललाई सचेत गराएको छ।
बैङ्कले उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ।
संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको भन्दै सप्तकोसी विकास बैङ्क सञ्चालक समिति र सीईओलाई राष्ट्र बैङ्कले सचेत गराएको छ।
सप्तकोसीका सीईओ दिनेशकुमार पोखरेलले कोर बैङ्किङ सिस्टममा गएर आधार दर नै परिवर्तन गरेको राष्ट्र बैङ्कले जानकारी दिएको छ।
नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैङ्कले नारायणी डेभलपमेन्ट बैङ्कलाई १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना समेत गराएको छ।
बैङ्कले साउन र भदौमा सिडी रेसियो ९० प्रतिशत बढी गराएको खुलेपछि थप २ लाख ४२ हजार जरिवाना समेत गरिएको छ।
तीन फाइनान्स कारबाहीमा
राष्ट्र बैङ्कले प्रोग्रेसिभ, गुडविल र फाइनान्स र गुह्येश्वरीलाई कारबाही गरेको छ। प्रोग्रेसिभले चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रक्रिया अपनाइ जोखिमपूर्ण कर्जा दिएको पाइएकाले भन्दै सीईओ र सञ्चालक समितिलाई सचेत गराउँदै उपयुक्त निर्देशन दिइएको केन्द्रीय बैङ्कले जनाएको छ।
गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सदुपयोग सुनिश्चित नगरी महर्जन बिजनेस एसाोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई उपयुक्त निर्देशन दिइएको छ बैङ्कले जानकारी दिएको छ।
त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी राष्ट्र बैङ्कको नियामकीय व्यवस्था उल्लङ्घन गरेको पाइएकोले सीईओलाई सचेत गराइएको बैङ्कले जनाएको छ।
फागुन २, २०८० बुधबार १५:१३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।