नवाजका भाई शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने, छोरी मरियम पञ्जावको मुख्यमन्त्री

नवाजका भाई शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने, छोरी  मरियम पञ्जावको मुख्यमन्त्री

एजेन्सी : शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीबाट प्रस्ताव गरेका हुन्। यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ।

पार्टी प्रवक्ता मरियम औरङ्गजेबका अनुसार शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेका छन्।

नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन्।

नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन्। शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन्।

इमरान खानको सरकार पतन भएपछि २०२२ - २०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।

२ फागुन, २०८०, १४:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।