बुटवल फैलँदा मुख्य सडककै सटर खाली, विज्ञ भन्छन्- ‘मेगा सिटीको अवधारणामा अघि बढ्नुको विकल्प छैन’

बुटवल फैलँदा मुख्य सडककै सटर खाली, विज्ञ भन्छन्- ‘मेगा सिटीको अवधारणामा अघि बढ्नुको विकल्प छैन’

बुटवल : पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल। कुनै समय आसपासका क्षेत्रबाट बजार गर्न बुटवलै आउनुपर्थ्यो। देवदह, तिलोत्तमा, शिवपुर, मोतिपुर, समेलार, सैनामैनादेखि मणिग्राम दक्षिणतर्फका उपभोक्ता पनि बजारका लागि बुटवलमा पुग्थे।

बुटवल बजार किनमेलका लागि जाने भनेपछि छुट्टै उत्साह हुने गर्थ्यो। दिनभरको समय लिएर बुटवलबाट दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, गरगरहना बर्तनको किनमेल गरेर घर फर्कन्थे।

बुटवलको परिचय व्यापारिक नगरीको रूपमा थियो। व्यापारिक प्रतिष्ठानमा ठेलमठाल भीड हुन्थ्यो। मुख्य बजार क्षेत्रमा सटर भाडामा पाउनै मुस्किल हुन्थ्यो। सटर भाडामा पाउँदा व्यापारीले घरधनीसँग खुलेर भाडा बापत रकम पनि तिर्थे।

तर, यहि बुटवलमा अहिले व्यवसाय गर्नेहरू आत्तिएका छन्। ठूलो लगानी गरेर सञ्चालन गरेका पसलहरू मात्र होइन, स-साना उद्यम गरेका पसलहरू पनि बन्द हुन थालेका छन्। मुख्य बजारकै सटर खाली छन्। कति व्यापारी व्यवसायबाटै पलायन भएका छन् भने कतिपय विदेशिने सुरमा छन्।

नुनदेखि सुनसम्मको व्यापार हुने यो बजार कोभिड महामारीअघिसम्म बाह्रैमास गुल्जार हुन्थ्यो। कोभिड सकिए पनि आर्थिक मन्दी बढ्दै जाँदा अहिले बुटवल बजारमा पहिलाजस्तो गुल्जार छैन। देश संघीयतामा गएपछि बुटवल अस्थायी मुकाम बन्यो।

धेरैले स्थायी राजधानी यहाँ हुनेमा निश्चिन्त थिए। व्यापारिक नगरी बुटवलमा ठूलो लगानी लगाएर व्यवसाय गर्न हौसिए। तर, बुटवलबाट स्थायी राजधानी दाङ गयो। त्यहि समयमै कोभिड आयो। कोभिडपछि व्यापारीहरू आर्थिक मन्दीको चपेटा परे। यसैकारण व्यापार व्यवसायबाट धेरैले पलायनको बाटो राेजे।

सपिङ कम्पलेक्सका लागि बनाइएको ठूला भवनहरूमा समेत प्राय सटर खाली छन्। बुटवलको मुख्य बजार भनेर चिनिने अमरपथ, राममन्दिर लाइन, अस्पताल लाइन, ट्राफिकचोक, राजमार्ग चौराह, कालिकानगर क्षेत्रका व्यवसायीहरू पसल बन्द गरेर हिँडेपछि धेरै सटर खाली भएका छन्।

६ महिनाअघि रुपन्देहीको सिमावर्ती बजार सुनौलीबाट भन्सार कार्यालयले एक सय रुपैयाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने अनिवार्य नीति बनायो। यसो हुँदा नेपाली बजार चलायमान हुने अपेक्षा गरिएको थियो। तर, त्यसो हुन सकेन। बुटवललाई चलायमान बनाउन गरिएका प्रयास सार्थक भइरहेका छैनन्। बरु दिनानु दिन व्यापारिक प्रतिष्ठान खाली हुँदै गइरहेका छन्।

अर्थतन्त्रका जानकार मनिकर कार्की बुटवलमा हुने व्यापारिकरणलाई फरक तरिकाबाट सोच्नुपर्ने बेला आएको बताउँछन्। बुटवल वरपरका बजार उन्मुख क्षेत्रहरूको आवश्यकतालाई जोडेर मेगा सिटीकै अवधारणाको विकल्प नभएको उनको भनाइ छ।

‘बुटवलका छेउछाउका ग्रामीण ठाउँहरू बजार उन्मुख भएका छन्। विकेन्द्रीत भएका कारण चहलपहल घटेको हो’, उनले भने, ‘अमरपथलाई मात्र हेरेर बुटवललाई चलेन भन्नु त्रुटी छ। बुटवलको पहिचान के हो? अब बुटवलका सम्पदा पहिचान गरेर बजार प्रवर्द्धन गर्ने काम भएन।’

साथै उनले व्यापारीहरूले बुटवलको विस्तारित केन्द्रका बारेमा आँकलन नगर्दा पनि अहिले बुटवल संकुचित बन्न पुगेको बताए।

‘व्यापारीहरूले पुरानै अवस्थामा चलयमान यथावत रहन्छ भन्ने ठानेर लगानी बढाए। तर उनीहरूले विस्तारित केन्द्र कता हो भनेर बुझ्नै चाहेनन्’, उनले भने।

यता बुटवल पहिलाजस्तो चलायमान नहुनुमा आर्थिक मन्दीलाई मात्र कारण मान्न व्यवसायीहरू तयार छैनन्। रुपन्देही उद्याेग स‌घका अध्यक्ष दिलिप सापकाेटाले पनि कार्कीले जस्तै विकेन्द्रीकरणको असर बुटवलमा देखिएको बताए।

‘गाउँ–गाउँमा बजार विस्तार भयो। यहाँभन्दा राम्रो बजार गाउँमा स्थापित भए,’ उनले भने, ‘पहिले कोटिहवा, मणिग्राम, मोतिपुर, सेमलार, देवदह, फर्साटिकर, मानपकडीबाट बजारका लागि बुटवल आउँथे। तर, अहिले त्यहाँ बजार फैलिएको छ। यसले पनि बुटवलको व्यापारमा कमी आएको हो।’

त्यसबाहेक प्रदेशको स्थानीय राजधानी नहुँदा अनि घर भाडामा लगाउने घरधनीहरूका कराण पनि बुटवलको व्यापार व्यवसायमा असर पुगेको उनको भनाइ छ।

‘बर्दियादेखि रामपुरसम्मका जनता प्रदेश राजधानी भनेर सरकारी तथा गैरसरकारी कार्यक्रमले बुटवल आउँदा अलि चलायमान हुन्थ्यो,’ उनले थपे, ‘अनि अर्को कुरा, बुटवललाई साच्चै चलायनमा बनाउने हो भने यहाँका घरधनीले भाडामा विचार गर्नैपर्छ। भाडामा सहुलियत हुन सकेमा पनि केही व्यवसायी टिक्ने अवस्था आउनसक्छ।’

फैलँदो बुटवल
हुन पनि बुटवल अहिले योगिकुटीदेखि गोलपार्कसम्म मात्र सीमित छैन। हरेक चोक र गाउँ आफैँमा पूर्ण छन्।

नयाँगाउँ, समेलार, बेलबास, देवदह, मणिग्राम, शिवपुर, ४ नं., फर्साटिकर, मानपकडी लगायतका ठाउँ आफैँमा पूर्ण भएका छन्। नुनदेखि सुनसम्म सबै खरिद गाउँ–गाउँमा स्थापित पसलहरूमा पाउन थालेपछि पनि धेरैका लागि बुटवल आउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

आर्थिक हबको पहिचान बनेको बुटवलमा अहिले धेरै व्यवसायीहरूले विकल्पको खोजी गरिरहेका छन्। बजार चलायमान नहुँदा साना व्यवसायी झन् मारमा छन्। आठ वर्षदेखि बुटवलको शहर निर्माणाधीन अवस्थामा छ।

अधिकांश मानिस यहि सडक देखेर नै बुटवल आउन झिँझो मान्छन्। अहिले मुख्य भागमा कालोपत्रे गरिए पनि नाली व्यवस्थापन र फुटपाथको काम बाँकी छ। यो सडककै कारणले पनि धेरैले व्यवसायबाट हात झिके।

बुटवलको परिचय नै व्यापारसँग जोडिएको इतिहास छ। बुटवल नहुँदै बटौली रहेकै अवस्थामा यो व्यापारीक हबकै रूपमा परिचित थियो। जानकारहरूका अनुसार अमरसिंह थापा पश्चिम एकीकरण गर्न जाँदा बुटवलमा बसेको इतिहास छ। यहि इतिहास बोकेको बुटवललाई कसरी अझै स्थापित गर्ने भन्नेमा यहाँका संघसंस्था जोडतोडले लागेका पनि छन्।

बुटवललाई चलायमान बनाउन अब सामुहिक प्रयत्नको जरुरी भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए। बुटवलको दिगो विकास र यहाँको आर्थिक अवस्थालाई गतिशील बनाउन मोतिपुर औद्योगिक क्षेत्र निर्माण र हिलस्टेशनको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ।

उनले पहिले जस्तो बुटवल केवल अमरपथ, राममन्दिर, जेसिस चोकमा मात्र सीमित नभएको भन्दै बुटवल फैलिन क्रममा रहेको बताए। अहिलेको बजार कोर एरियाबाट बाहिर सर्दै गइरहेको स्वीकार्दै उनले घरधनीका कारणले पनि मुख्य बजार क्षेत्रमा व्यावसायिक प्रतिष्ठानहरू खाली हुँदै गएको बताए।

‘बुटवलको चलायमान घट्नुमा पूर्वाधारको विकास पनि एक कारण मान्न सकिन्छ। बुटवल नारायणगढ सडकले पनि धेरै असर गरेको छ। अब फेरि बुटवल चन्द्रौटा सडक ४ लेन बनाउने भन्नेछ। फेरी ८/१० वर्ष यो सडक निर्माण गर्न समय लागेमा बुटवललाई असर पक्का पर्छ’, उनले भने।

बजारमा गर्ने युवापुस्ता विदेशिँदै जानुले पनि बजार चलायमान हुन नसकेको उनको तर्क छ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारीले बुटवल चलायमान हुन नसक्नुमा पार्किङ समस्या मुख्य रहेको बताए। मुख्य बजारमा पार्किङ नहुँदा धेरै थोक विक्रेताहरू बाहिरै जाने गरेको उनको भनाइ छ।

‘राजधानी सर्दैमा बुटवल पूर्ण चलायमान हुन सकेन भन्ने होइन। विस्थापित भएको हैन। पार्किङ नहुँदा थोक बजार बुटवलबाट पलायन भए। थोक बजार पलायन हुनासाथ खुद्रा बजार कम हुनु स्वभाविक हो’, उनले भने।

त्यस्तै उनले अत्याधिक भाडाका कारण पनि व्यवसायहरू बुटवल छाड्न बाध्य भएको बताए। उनले व्यवसायलाई कसरी उजागर गराउने भन्नेमा सरकारले बेलैमा नसोचे व्यवसायीहरू अझ बढी पलायन हुने अवस्था आउनेमा जोड दिए। त्यसबाहेक खुला सिमानाका कारणले पनि बुटवलको बजारमा प्रभाव परेको उनको तर्क छ।

उनले खुला सिमानाको फाइदा उठाउँदै चोरीतस्करी बढ्नुले पनि बुटवल बजार सुनसान बन्दै गएको बताए। राज्यले बैंक ब्याजलाई सहजीकरण गरी स्वदेशी बजार बचाउने नीति ल्याउनुपर्ने तर्क उनको छ।

नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले अब बुटवल बजारलाई विशिष्टकृत बजारको रूपमा लैजानुपर्ने बताउँछन्। उनले ग्राहकलाई कसरी सुविधा दिने भन्नेमा व्यापारीहरूले सोच्न नसक्नुका साथै विश्वासिलो आधार समेत तय गर्न नसक्दा बुटवलबाट धेरै व्यवसायहरू अन्यत्र पलायन भएको उनले बताए।

‘हामीले अब बस्तुको प्रकार हेरिकन एक ठाउँमा केन्द्रीत हुनुपर्छ। अहिलेका ग्राहक झन्झन्ट व्यहोर्न चाहन्न। जे चाहन्छन् त्यो एकै ठाउँ किन्न खोज्छ। यो मोडलबाट हामीले सोच्न जरुरी छ। मूल्यको सन्दर्भमा पनि विश्वासिलो आधार तय गर्नुपर्दछ’, उनले भने।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय व्यापारीहरूको प्रबर्द्धनका लागि स्थानीय सरकारले करको दर भन्दा पनि दायरा बढाउने गरी व्यवसायी मैत्री नीति अवलम्बन गरेको बताए।

‘कुनै पनि व्यापारी लगानी गर्न बुटवलमा आउँछ भन्ने त्यसलाई प्रोत्साहन गर्नुे गरी हामी अगाडि बढेका छौँ। अब बुटवल फैलिदो छ। बुटवलभित्रै व्यापारको सम्भावना छ। त्यसलाई कसरी पूर्वाधारसँग जोड्ने, त्यो हामी गर्छौं’, उनले भने।

२ फागुन, २०८०, १३:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।