एसीसी महिला प्रिमियर कप : कुवेतविरुद्ध नेपालले टस हार्यो
काठमाडौं : एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनल कुवेतविरुद्ध नेपालले टस हारेको छ।
मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा कुवेतले टस जितेर ब्याटिङ रोजेसँगै नेपाल बलिङमा तानिएको हो।
जारी प्रतियोगितामा अपराजित नेपाल समूह ‘डी’को विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो।
नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो। माल्दिभ्सविरुद्ध मंगलबार २ सय १४ रनको फराकिलो अन्तरको जित हात पार्दा रुबिना क्षेत्रीले शतक प्रहार गरेकी थिइन्।
टी–ट्वेन्टी आईमा नेपाली महिला खेलाडीले बनाएको यो अहिलेसम्मको उच्च स्कोर हो। यस्तै रुबिना टी–ट्वेन्टी आईमा शतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनिन्। २ सय २८ रनको लक्ष्य पछ्याएको मालदिभ्स १३ रनमानै अल आउट भएको थियो।
कुवेत समूह ‘ए’को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। समूहमा थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो।
उसले म्यानमारलाई २७ रनले हरायो। आजको विजेताले सेमिफाइलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने जापान र मलेसियाको विजेताले युएईसँग खेल्नेछ।
आजै विहान भएको खेलमा थाइल्याण्डले हङकङलाई तीन विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने युएईले इन्डोनेशियालाई ५६ रनले पराजित गरेको थियो।
सेमिफाइनलका खेल शुक्रबार विहान सवा ११ बजे सुरु हुनेछन्। फाइनल पुग्ने दुई टोलीले एसिया कपमा सहभागी हुनेछन्।
फागुन २, २०८० बुधबार १२:१६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।