सिजीले नेपाल भित्र्यायो एआईओएन वाई विद्युतीय गाडी, मूल्य ५५ लाख

सिजीले नेपाल भित्र्यायो एआईओएन वाई विद्युतीय गाडी, मूल्य ५५ लाख

काठमाडौँ : सिजी मोटर्सले एआईओएन वाई नामक विद्युतीय गाडी नेपाल ल्याएको छ। मङ्गलवार सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय गाडी सार्वजनिक गरेका थिए।

नेपाली बजारमा भित्रिएको एआईओएन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो। सो गाडी विभिन्न सात रङ्गमा आएको सिजी मोटर्सले जानकारी दिएको छ।

नयाँ गाडी सार्वजनिक गर्दै निर्वाणले एआइओएन वाइ आकर्षक डिजाइन र सहजताले यात्रुलाई थप आकर्षित गर्न सक्ने अपेक्षा व्यक्त गरेका थिए।

चौधरी समूहको सिजी मोटर्सले यस अगाडि नै नेटा भी नेपालमा भित्र्याएको थियो। मङ्गलवार सार्वजनिक गरिएको गाडी चिनियाँ गाडी निर्माता ग्वान्झाओ अटो मोबाइल ग्रुप कर्पोरेसन (जीएसी) ले निर्माण गरेको हो। एआईओएन वाईमा अत्याधुनिक ब्याट्री प्रणाली रहेको निर्माण कम्पनीको दाबी छ।

४५ सय ३५ एमएमको लम्बाइ, १८ सय ७० एमएएमको चौडाइ, १६ सय ५० एमएएमको हाइट रहेको गाडीमा २७ सय ५० एमएएमको ह्वीलबेस, ५ वटा सिट, ४९० किलोमिटरको रेन्ज (एनइडीसी), ब्याट्रीको साइज ६१.५ किलोवाट प्रतिआवर रहेको बताइएको छ। यो सन् २०२३ मा चीनमा बिक्री हुने विद्युतीय सवारीको बजारमा चौथो शीर्ष स्थानमा रहेको गाडी हो।

फागुन १, २०८० मंगलबार २०:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।