रेखाप्रति नवलको आक्रोश- ‘राष्ट्र भाड्मा जाओस् भनेर बच्चा जन्माउन विदेश जानेले मसँग फिल्म जुधाए’
काठमाडौं : यही फागुन २५ गते आफ्नो फिल्मसँग अरू दुई वटा फिल्म जुध्न आएपछि निर्देशक तथा अभिनेता नवल खड्का आक्रोशित बनेका छन्। उनको आक्रोश अभिनेत्री रेखा थापाप्रति रहेको छ।
मंगलबार आफ्नो फिल्म ‘काँडेतार’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूले तोकेकै मितिमा फिल्म जुधाएको भन्दै अभिनेत्री थापासँग आक्रोश व्यक्त गरे।
उनले निर्माता समेत रहेकी अभिनेत्री रेखा थापाप्रति लक्षित गर्दै भने, ‘यो देशलाई डेरा बनाउन चाहनेहरू, देशप्रति माया नहुनेहरू, राष्ट्र भाड्मा जाओस् भन्नेहरूले चलचित्र जुधाउन आएका छन्। तिनीहरूको जन्मकुन्डली पत्ता लगाउनुहोस्।’
उनले पत्रकारहरूलाई प्रश्न सोध्दै भने, ‘उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ? हामीले यो देश बचाउनुपर्छ, हाम्रा सन्तानहरू यही देशमा जन्मिनुपर्छ र यो देशमा सुनौलो भविष्य सुम्पिनुपर्छ भन्ने मान्छे हो म। पलायन हुनका लागि आफ्नो भविष्यको सुनिश्चत गर्न कुनै देशमा गएर बच्चा जन्माउने या सिटिजन लिने काम हामी गर्दैनौँ।’
उनले आफूले सबै फिल्मकर्मीसँग सल्लाहका साथ फागुन २५ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको बताउँदै आफ्नै विश्वासिला पात्रले धोका दिएको आरोप लगाए।
‘मैले फिल्म एक वर्षअघि नै सबै साथीहरूलाई राखेर भदौमा प्रदर्शन गर्न लागेको थिए। दसैंमा ल्याउन खोजेको थिए, तिहारमा ल्याउन खोजेको थिए’, उनले आक्रोशित हुँदै भने, ‘उनीहरूले ती सबै फिल्महरूलाई छोडेर यो फागुन २५ गते कुनै फिल्म नल्याउने भनेका थिए।’
उनी रेखा थापासँग मात्र होइन फिल्म वितरक करण श्रेष्ठ क्रेजीसँग समेत आक्रोशित भए।
उनले आफ्नो फिल्म वितरणको जिम्मा लिने मान्छेले नै आफूलाई कोखामा छुरा हानेको भन्दै आक्रोश पोखे।
उनले अगाडि भने, ‘मेरो फिल्मसँग जसले जुधाउन ल्याउँदै हुनुहुन्छ। उहाँसँग बसेर फागुन २५ गते प्रदर्शन मिति तोकिएको थियो। उहाँले नै झ्याम्म पारेर अर्को फिल्म ल्याएर हाल्दिनुभयो। यो फिल्मको पनि उहाँ नै वितरक हुनुहुन्थ्यो।’
उनले फिल्म जुधाउन ल्याउने वितरकलाई काइतेको संज्ञा दिएका छन्।
उनले थपे, ‘काइतेसँग केही लाग्दैन। सिधा कुरा गर्न आए भने म भिड्न तयार छु। पछाडिबाट आएर छुरा हान्नेवालासँग मेरो केही लाग्दैन। मैले सबैलाई मिलाउन प्रयन्त गरेकै हो।’
फिल्म सुटिङ गरिरहेका फिल्मकर्मीहरूले आफूसँग जुध्न आइरहेको र उनीहरू कहाँबाट सञ्चालित भइरहेका छन् भन्ने उनको प्रश्न छ।
‘एक वर्ष अगाडि अहिलेकै डेट घोषणा गरेको हो, त्यो पनि सेन्सर गरेर,’ उनले आफ्ना विगतका कुरा कोट्याउँदै भने, ‘उहाँहरूको फिल्म सुटिङ भइरहेको छ। कतिपय फिल्महरू सेन्सर नहुँदै मसँग जुध्न आइरहेका छन्।’
उनको फिल्मसँग रेखा थापाको ‘उपहार’ र दयाहाङ राई अभिनित फिल्म ‘रंगेली’ प्रदर्शनमा आउँदैछन्।
फागुन १, २०८० मंगलबार १९:०१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।