सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने? : ओली

सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने? : ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए।

उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए।

ओलीले सोधे, 'सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने?'

जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे।

उनले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको बताए।

ओलीले भने, 'हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ। धेरै जटिल अवस्था। एउटा त, हिंसात्मक द्वन्द्व भयो। हिंसा भयो देशमा। हिंसा किन र केका लागि भयो? त्यसको पुष्टि कसैले गर्न सकेको छैन। जनताले आवाज राख्न, बोल्न पाएन, बोलेर आफ्ना कुरा र हित राख्न पाएन भन्ने अवस्था थिएन। संविधानले बोल्ने अधिकार, संगठित हुने अधिकार दिएको थियो। र आफ्ना कुरा राख्ने अधिकार दिएको थियो, हिंसा किन गर्नुपर्यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन। अनि हिंसा भयो, त्यहाँ शान्तिपूर्ण ढंगले परिवर्तन गर्न र ल्याउन सकिने सरकारमा पुग्न सकिने, सरकारमा पुगेर आफ्ना नीति, देश र जनताको पक्षमा बनाउन सकिने अवस्था थियो।'

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्बना भएको बताए।

फागुन १, २०८० मंगलबार १७:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।