मानव बेचबिखन र ओसारपसार : ६ महिनामा ८९ जना पक्राउ

मानव बेचबिखन र ओसारपसार : ६ महिनामा ८९ जना पक्राउ

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा मानव बेचबिखन र ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्। तीमध्ये ६७ पुरुष र २२ महिला छन् भने सोही अवधिमा ७९ मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभरबाट २३६ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये १५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन्।

वैदेशिक रोजगारीका निम्ति नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराइन, कुवेत, यूएई, अमेरिका, विभिन्न युरोपेली, अफ्रिकी लगायत देशहरूमा काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी नेपाली बेचबिखनमा पर्ने गरेका प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल भने, 'अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समयसापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनको लागि पहल भइरहेको पनि छ।'

नेपाल प्रहरीमा ०७५ सालमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको स्थापना गरिएको छ। ब्युरो स्थापनापछि सोसम्बन्धी अपराधमा संलग्न हालसम्म एक हजार ११८ जना पक्राउ परेका छन्। तीमध्ये ७८३ जना पुरुष र ३३५ महिला छन्।

यो अवधिमा ८९२ मुद्दा दर्ता गरिएको छ।

फागुन १, २०८० मंगलबार १४:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।