२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमा अलआउट, नेपालको कीर्तिमानी जित

२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमा अलआउट, नेपालको कीर्तिमानी जित

काठमाडौं : एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध नेपालले २१४ रनले कीर्तिमानी जित निकालेको छ।

नेपाली महिला टिमले यसअघि यति ठूलो अन्तरको जित निकालेको थिएन।

२२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा अलआउट हुँदै १३ रन मात्र बनायो। उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका अश्मिना कर्माचार्यले चार, पूजा महतो र रुविना क्षेत्रीले समान तीन–तीन विकेट लिए।

त्यसअघि मलेसियाको युकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२७ रन बनायो।

नेपालकी रुविना क्षेत्रीले अविजित शतक बनाउँदा पूजा महतोले अविजित रहँदै अर्धशतकीय पारी खेलिन्। महिला क्रिकेटमा शतक बनाउने रुविना पहिलो नेपाली खेलाडी हुन्।

यी दुईले १६६ रनको साझेदारी गरेका हुन्। यो नेपाली महिला क्रिकेट टिमका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो।

५९ बलको सामना गरेकी रुविनाले १० चौका र ५ छक्काको मदद्तमा ११८ रन बनाइन्। उता ३६ बलको सामना गरेकी पूजाले ५ चौका र १ छक्काको मदद्तमा ५९ रन जोडिन्।

त्यसबाहेक सीता रानामगर १५, कविता कुँवर १३ रन र डली भट्ट ६ रनमा आउट हुँदा कप्तान इन्दु शर्मा पहिलो बलमै आउट भइन्।
माल्दिभ्सका शम्मा अलीले तीन र नब्बा नसीमले एक विकेट लिए।

जितसँगै नेपाल समूह ‘डी’को विजेता बनेको छ। अब उसले क्वार्टरफाइनलमा समूह ‘ए’ को उपविजेता कुवेतसँग भिड्नेछ।

प्रिमियर कपको दुई सेमिफाइनल खेल्ने टोलीले यसै वर्ष हुने एसिया कपमा सहभागी हुन पाउनेछन्।

फागुन १, २०८० मंगलबार १४:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।