छ महिनामा नेपाल टेलिकमको खुद आम्दानी ३ अर्ब ९३ करोड

छ महिनामा नेपाल टेलिकमको खुद आम्दानी ३ अर्ब ९३ करोड

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २५ करोड खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ। कम्पनीले दूरसञ्चार सेवाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब २४ करोड आम्दानी गरेको छ।

गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १८ अर्ब ७ करोड थियो। दूरसञ्चार सेवाबाहेक वित्तीय आम्दानी पनि घटेको छ। यस्तो आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६१ करोड छ।

नाफा घट्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ। हाल वार्षिक प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा छ।

गत वर्ष यस्तो आम्दानी ४७ रुपैयाँ २८ पैसा थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ छ। सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ छ।

नेटवर्थका आधारमा टेलिकम उत्कृष्ट देखिँदा घट्दो बिजनेस र नाफा चुनौतिका रुपमा देखिन थालेको छ।

पछिल्लो समय प्रत्येक्ष ‘भ्वाइस’ सेवाभन्दा निश्चित ब्रोडब्यान्डमार्फतका सेवातिर ग्राहकको आकर्षण बढ्नु, ब्रोडब्यान्ड सर्भिस विस्तारले मोबाइल डाटामा कमी आउनुजस्ता कारणले आम्दानी घट्नुलाई कम्पनीले चुनौतीका रुपमा औंल्याएको छ।

फागुन १, २०८० मंगलबार ०९:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।