चालिस वर्षदेखि तामाको भाडा मर्मत गर्दै आएका रामसुन्दर भन्छन्,'५० वर्ष पुरानो तामाको भाँडा नबेच्नु, त्यसमा सुनको मात्रा हुन सक्छ!'
काठमाडौँको एट्खा गल्लीको साँघुरो कोठामा तामा पित्तलको सामान मर्मत गर्न भ्याइनभ्याइ हुन्छ राम सुन्दर बज्राचार्यलाई। कालो रंगको गोलो टोपी लगाएर बस्ने उनको दार्हीजुँगा पुरै सेताम्मे छ। झट्ट हेर्दा उनी कुनै पर्यटक झैँ देखिन्छन्। उनको स्वरूप देखेर बाटोमा हिँड्ने केही पर्यटकहरूले त फोटो पनि खिचेर लगेका रहेछन्।
उनी आफैले पनि कुनै समय 'गाइड'को तालिम लिएका थिए। उनी प्राय विभिन्न डाँडा पाखा डुल्न रुचाउँछन् पनि। अल्लारे उमेरमा धेरै काममा हात हाले पनि अन्तिममा भने उनी यही कालिगढ़को रूपमा परिचित भए।
'सानो हुँदा नै गरेको काम यही नै हो,' उनले सुनाउँदै गए,'अल्लारे उमेरमा चैँ मन भत्किने रहेछ। बिचमा भादगाउँले कालो टोपी पनि सिलाएँ। गाडीमा कन्डक्टर काम पनि गरेँ। कोकाकोला कम्पनीमा पनि काम गरेँ। विभिन्न सहरमा पुगेर 'कोकाकोला' लेख्ने काम पनि गरेँ। पछि क्यामेरा देखेर फोटोग्राफरको काम पनि गरेँ। कोकाकोलाको काम गर्दा घुम्ने बानी लागेकाले गाइड बन्ने इच्छा पनि जाग्यो। त्यसको पनि तालिम लिए। अहिले पनि यही काममा रमाइरहेको छु।'
काठमाडौँ- भक्तपुर एक्सप्रेसमा कन्डक्टर हुँदा गाडी नम्बर ७०६ मा काम गरेको उनलाई अहिले पनि सम्झना छ।
काभ्रेको दाप्चामा जन्मिएका उनले २०३८/०३९ साल देखि तामाको भाडा बनाइरहेका छन्। कालीमाटीमा साहुको पसलमा कोइला फुटाउने, आगो सल्काउने अनि पित्तल गलाउँदै त्यसलाई विभिन्न स्वरूपमा ढाल्ने, मर्मत गर्ने काम गर्दै आएका उनको आफ्नै पसल भएको वर्षौँ भइसक्यो।
उनी काभ्रेको भए पनि प्राय आफन्त उपत्यकामै छन्। उनले भने अनुसार उनी नेपालको तान्त्रिक बज्राचार्यको सन्तति हुन्। उनीहरू भक्तपुरबाट काठमाडौँ आएका हुन्। अनि पाँच पुस्तादेखि काभ्रेमा छन्।
'हामी कसरी काभ्रे पुग्यो भन्ने थाहा छैन,' उनले सम्झिँदै भने,'छोराछोरी समेतको हिसाब गर्दा पाँच पुस्ता हुन्छ। काभ्रेको बजारमा त श्रेष्ठ नेवार छन्। बज्राचार्यमा भने म एक्लै हो। दायाँबायाँ पहाडमा तामाङ, क्षेत्री अनि ब्राह्मण पनि छन्।'
उनको बाल्यकाल उतै बित्यो। आफ्नो बाल्यकाललाई उनले त्यति धेरै उत्साहजनक रूपमा हेरेका छैनन्। अनि एकदमै दुख भएको पनि मान्दैनन्। जे होस् सानैदेखि काम गरेको हुनाले पढाइमा भने राम्रो हुन नसकेकोमा उनलाई अहिले पनि खड्की रहने रहेछ।
बासँग सुनको काम सिक्न नपाउँदा सुन नै मन परेन
'एसएलसी तीन पटक सम्म दिए पनि पास भइएन। हिसाबमा सधैँ कमजोर थिएँ। तीन चोटिमा पनि पास नभए पछि पढाई नै छोड्दिए,' मधुरो आवाजमा उनले भने।
उनको बा'ले सुन चाँदीको काम गर्थे। तर जन्मजात नशाको रोगी थिए। केही काम गर्दा हात, शरीर काम्ने गर्थ्यो। शरीरले साथ दिएसम्म उनको बा'ले त्यो कामलाई निरन्तरता दिए।
तर रामसुन्दरले भने आफ्नो बा'बाट उक्त काम सिक्न पाएनन्। बा'को हातबाट सिक्न नपाएकोमा उनी निराश भए। त्यसपछि सुनचाँदीमा समेत उनको दुरी बढ्यो। 'बा हुँदा नै सिक्न पाएको भए मज्जाले सिक्थे होलान्। अहिले पनि त्यही गर्थे होलान्।
तर बाले गर्दै आएको काम, बासँग सिक्न नपाएपछि सुनको काम गर्न मन नै लागेन। उनलाई सुन मन पर्न छोड्यो रे। अहिलेसम्म उनले सुनको केही लगाएका रहेनछन्। आठौँ मध्ये उनी सातौं सन्तान। सानो भएको कारण बा'सँग धेरै समय बिताउन नपाएकोमा उनलाई चित्त दुखाइ रहेछ।
सानैमा उनलाई बा'ले इन्डिया लागेका रहेछन्। त्यहाँबाट फर्किएर गाउँमै तीन कक्षासम्म पढे। त्यसबेला तीन कक्षाको सर्टिफिकेट लिन बाले तीन पैसा तिरेकोसम्म याद रहेछ।
त्यसपछि उनी भक्तपुरमा गएर पढे। छ कक्षासम्म पढ्दा पढ्दै उनी काममा जोडिए। त्यतैको कारखानामा काम सिक्दै, बस्दै गरे। पढाइ राम्रो हुन सकेन।
कारखाना बाट निस्किएपछि आफ्नै कारखाना खोलेर सामान उत्पादन गर्न थाले उनले। १२/१४ जना कामदार पनि राखे। तर केही वर्षपछि कारखाना बन्द गर्नुपर्यो। पछि काठमाडौँकै गल्लीमा एउटा कोठा लिएर एक्लै पसल धानिरहेका छन्। एक्लै भएकाले काम भ्याई नभ्याइ रहेछ।
पहिला त उनी बोरा बोकेर घरघर पुगेर तामा, पित्तल, चरेस लगायतको भाँडाहरू लिएर फर्किन्थे। अहिले उनले घरघर जान परेको छैन। भ्याएका पनि छैनन्। टाढाबाट ग्राहक आफैँ सामान लिएर आउँछन् उनकोमा।
'भूकम्प अगाडि छोडेर जानु भएको सामान अझैसम्म मर्मत गरेर दिन सकेको छैन। एउटा काम सक्काउँदा अर्को छुट्टी नै हाल्ने रहेछ। दशैँमा चाहिन्छ भनेको समान पनि त्यत्तिकै छ,' उनी भन्छन्, 'यस्तो बेला चैँ अलि दुख लाग्छ। एक्लैले सबै भ्याइँदैन। कुनै कामदारलाई राखौँ न त भने पनि उसलाई सिकाउने, खान-बस्न दिने, तलब पनि दिने अवस्था छैन। अहिले महँगीले गर्दा सिकाउने माहौल नै छैन।'
कोभिडको समयमा संसार नै ठप्प हुँदा उनले केही बाँकी भएको काम पुरा गर्ने फुर्सद पाएका थिए। तर अहिले फेरी फुर्सद नै छैन। मन्दिर, धारा लगायतका सामान मर्मत गर्न भने उनी त्यही ठाउँमा पनि पुग्छन्।
'जति नै नभ्याए पनि काम मन पराउने भएर ग्राहकले वर्षसम्म सामान राख्नु हुन्छ। त्यति धेरै समयसम्म पर्खाउँदा नराम्रो लाग्छ,' उनले भने।
'५० वर्ष अगाडििको तामामा सुनको मात्रा हुनसक्छ'
उत्पादनको सुरुवातमै पित्तल केलाएर काम गर्न पाएकोमा उनी सबैभन्दा खुसी छन्। त्यसले गर्दा तामाको गुणस्तरबारे उनले राम्रोसँग ज्ञान हासिल गरे। तामा पित्तलको बारेमा उनी निकै जानकार रहेछन्।
कुरै कुरामा उनले एक रहस्य खोले। ५० वर्ष पुरानो तामाको भाँडा छ भने त्यसमा सुन मिसिएको हुनसक्छ रे। यो उनले आफ्नै अनुभवका आधारमा गरेको दाबी हो।
'५० वर्ष अगाडिको उत्पादन सामान हो भने पाल्पाली काँच धातुको उत्पादन हुन सक्छ। त्यसको गुणस्तर गजबको हुन्छ,' उनी भन्छन्, 'नेपाली तामाको गुणस्तर सार्है राम्रो छ। तीन पुस्ता अगाडिको तामा घरमा छ भने बेच्ने नसोच्दा पनि नसोच्नु। कामै नलाग्नेगरि फुटेको छ, दश ठाउँमा टालेको छ भने अर्कै कुरा। त्यसबेला सम्मको तामामा सुनको मात्रा हुन्छ। सय केजी तामा निकाल्दा त्यसमा दुई सय पचासदेखि तीन सय ग्रामसम्म सुन हुन्छ। त्यस बेलासम्म प्रशोधन गर्ने प्रविधि आएको थिएन। त्यै भएर त्यस बेलासम्मको सामान नक्कली हुँदैन।'
उनले दुई सय वर्षसम्मको सामान मर्मत गरेका छन्। कारखानामा, तमाखु खाने हुक्काको भाडा, स-सानो करुवा त उनले आफ्नो कारखाना हुँदा उत्पादन गर्थे।
'पहिला माटोको भुईँ, तल्ला पनि माटोको। घरमा काठको भर्याङ्ग, दुई तल्लाबाट खस्दा पनि भाडा केही हुँदैनथे। त्यही भएर सामान पनि जोगिन्थ्यो। अहिले यता फर्क्यो मार्बल, उता फर्क्यो सिमेन्ट छ। अनि कसरी सामान नफुटोस् !,' उनले भने।
धेरै ग्राहकले तामाको भाडा मन नपरेको, हेर्न पनि मन नलाग्ने भन्ने पनि उनले देखेका रहेछन् । त्यसबेला उनलाई साह्रै चित्त दुख्छ रे। पहिला घर, कोठामा सानो भए पनि तामाको घ्याम्पो, फोसी, करुवा अटाउँथ्यो। अहिले त जति घर ठुलो हुँदै गयो यस्तो सामान हराउँदै गयो।
राम्रो तामाको भाडा कसरी चिन्ने ?
रामसुन्दरका अनुसार राम्रो तामा हेर्दै रातो र उज्यालो हुन्छ। राख्दा कालो हुने भए पनि त्यसलाई माझेपछि रातो र उज्यालो भइनै हाल्छ। अनि तामा जति राम्रो भयो त्यति नै लचकदार र नरम हुन्छ। इण्डियन उत्पादन कडा हुन्छ। त्यै भएर इण्डियन भन्दा नेपाली तामाको डिजाइन सबैमा धेरै अब्बल हुन्छ।
तामाको भाडा सफा गर्न अमिलो, वा नुन प्रयोग गर्दा हुन्छ। एकदम छिटो सफा गर्ने हो भने तेजाब नै प्रयोग गरिने उनले सुनाए। नयाँ जस्तै चाहियो भने त्यसलाई पोलेर सफा गर्नुपर्ने सुनाए उनले।
पोल्दाखेरि सामामा भएको मयलहरू खरानी हुन्छन्। आजकल धेरैले पीताम्बरको प्रयोग गर्ने भए पनि यो धेरै प्रयोग गर्दा भाँडा नै छिटो खिइने समेत उनी बताउँछन्।
'तामाको भाडा चलाउनै छोडी गए। अहिले फेरी चरेसको थालमा भात खाने, तामाको बोतल बोकेर हिँड्ने देखेको छु। त्यसरी एउटा भाडा मात्र चलाएर हुँदैन। अहिले जुन कुरा विज्ञानले थाहा पाए त्यो कुरा हाम्रो बाजे बराजुले पहिला नै गर्थे,' उनी भन्दै गए, 'तामाको घ्याम्पो/गाग्रीमा पानी राख्दा हरियो लेउ बस्छ। त्यो भनेको पानीको कीटाणु मरेको हो। अहिलेको मान्छेले तामाको बोतलमा, तामाको गिलासमा पानी पिउँछन् तर जारको पानी हालेर। त्यस्तो गर्नुको कुनै औचित्य छैन। तामाको भाडामा आठ/दश घण्टा पानी राखेपछि मात्र त्यसको महत्त्व हुन्छ।'
उनका अनुसार काँचले छ घण्टा, तामालाई आठ घण्टा र चाँदीले तुरुन्तै कीटाणु मार्ने गर्छ। त्यै भएर सानो बच्चालाई चाँदीको कचौरामा, चाँदीको चम्चाले खुवाउने गरिएको हो। यदि पानी शुद्ध खाने हो भने घ्याम्पो/ गाग्रीमा एक रात राख्नुपर्छ।
अहिले उनी बाङ्गेमुडामा आफ्नो परिवारसँग बस्छन्। उनको छोरीले काम गर्न थालिसकिन्। छोरा भने पढ्दै छन्। छोराले पनि बेलाबेला सहयोग गर्ने र कहिले त आफैंलाई पनि सिकाउने गरेकोमा उनी धेरै नै खुसी छन्।
वर्षमा एक पटक जात्रामा भने उनी काभ्रे गइराख्छन्। तिहारको लक्ष्मी पूजामा अति नै व्यस्त हुने हुँदा काम बन्द गर्दैनन्। नत्र भने समय मिलाएर उनी फेरी डाँडा डुल्न निस्किहाल्छन्।
बिना साधन दुई/चार सय मिटरमाथि हिमालतिर पनि उनी पुगेका रहेछन्। त्यही भएर आजको मितिसम्म शरीर तगडा भएको र समय मिलेसम्म जसरी पनि घुम्न निस्कने रहेछन् उनी।
माघ २९, २०८० सोमबार २०:४८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।