क्यानडाविरुद्धको ओडिआइमा अनिल र भीमको रेकर्ड, डेब्यु खेलमै हेमन्तको उत्कृष्ट प्रदर्शन

क्यानडाविरुद्धको ओडिआइमा अनिल र भीमको रेकर्ड, डेब्यु खेलमै हेमन्तको उत्कृष्ट प्रदर्शन

काठमाडौँ : ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीको सतकको सहयोगमा नेपालले क्यानडाविरुद्ध ओडिआई सिरिज क्लिनस्विप गरेको छ। सोमबारको अन्तिम खेल नेपालले ९ विकेटले जित्यो।

सोमबार क्यानडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पुरा गर्न नेपालले पुरै ओभर समेत खेल्नु परेन। ४५ औँ ओभरमा १ विकेट गुमाउँदा नै लक्ष्य भेट्दै सिरिज ३-० ले स्विप गर्यो।

यसअघिका दुई खेल भने यति सहज थिएन। पहिलो खेल नेपालले ७ रनले जितेको थियो भने  दोस्रो खेल ४ विकेटले जितेको थियो। तेस्रो खेलमा अनिलले १ सय १२ रन बनाएका थिए।  भीम नटआउट रहँदै १ सय १ रन बनाए।

अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरेर शतक पार गरेका थिए भने भीमले १ सय २९ बलमा ११ चौका र १ छक्काको सहयोगमा एक सय एक रन बनाए। ओडिआईमा नेपालका दुई खेलाडीले शतक बनाएको यो पहिलो हो।

अनिल र भीमले ओडिआईमा नेपालका लागि सबैभन्दा ठुलो साझेदारीको रेकर्ड समेत बनाए। यी दुईले १ सय ८९ रनको साझेदारी गरेर यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध बनाएको १ सय ७१ रनको साझेदारीको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाए।

टस जितेको नेपालले क्यानडालाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो। नवनित धलिवलले अर्ध शतक रन बनाए। यही खेलबाट नेपाली टिममा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिए।

माघ २९, २०८० सोमबार १९:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।