समलिंगी महिला जोडीले पाए विवाह दर्ताको प्रमाणपत्र, दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको दाबी

समलिंगी महिला जोडीले पाए विवाह दर्ताको प्रमाणपत्र, दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको दाबी

काठमाडौं : समलिंगी जोडीको विवाह दर्ता भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिंगी महिला जोडीको विवाह दर्ता गरेको हो। 

पाँच वर्षदेखि समलिंगी सम्बन्धमा रहेका बढैयाताल वडा नम्बर २ की अन्जुदेवी श्रेष्ठ (दिप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ५ की सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन्।

वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए।

‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’ उनले भने, ‘समलिंगी विवाह दर्ता भएको यो पहिलो हो।’

पहिलो संविधाभासभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिंगी) जोडी भनेका छन्।

‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको रूपमा औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन्,’ पन्तले सामाजिक सञ्जालमा लेखेका छन्।

३३ वर्षीय दिप्ती श्रेष्ठ र ३३ वर्षीय सुप्रिता गुरुङ दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए।

उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले पञ्जीकरण विभागमा ‘समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो।

माघ २९, २०८० सोमबार १३:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।