क्यानडाविरूद्वको एकदिवसीय सिरिजको अन्तिम खेल आज, क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

क्यानडाविरूद्वको एकदिवसीय सिरिजको अन्तिम खेल आज, क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

काठमाडौं : नेपाल र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम आज हुँदैछ।

खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुनेछ।

शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई पराजित गरेर यस सिरिजको उपाधि जितिसकेको छ।

नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ।

दोस्रो खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरूले राम्रो प्रदर्शन गरे।

दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दवाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ। यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए।

तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र ब्याटिङमा देखिएको धैर्यताका कारण दाशानायकेले फाइदा उठाउन सकेका छैनन्।

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो।

पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलीले यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्ड सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिए लगत्तै यी तीन टोलीबीच टी–२० शृंखला हुनेछ। यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ।

माघ २९, २०८० सोमबार ०७:४९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।