पत्रकार महासंघका सभापतिहरूबारे लेखिएको पुस्तक विमोचनमा फोनिजको उग्र व्यवहार, किताब च्याते, प्रमुख अतिथि, अतिथिलाई रोके

पत्रकार महासंघका सभापतिहरूबारे लेखिएको पुस्तक विमोचनमा फोनिजको उग्र व्यवहार, किताब च्याते, प्रमुख अतिथि, अतिथिलाई रोके

काठमाडौँ : आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अवरोधकाविच नेपाल पत्रकार महासंघका हालसम्मका सभापतिहरूबारे लेखिएको पुस्तक अग्र अनुहारको विमोचन भयो। महासङ्घको संस्थापक सभापतिबारे विवादलाई कारण देखाउँदै फोनिजका पदाधिकारी र समर्थकहरू विमोचनको बेलामा मञ्चमै गएर अग्रज पत्रकारहरूको हातबाट किताब थुतेर च्याते। आयोजकले पुस्तक विमोचन भएको घोषणा गरे।

फोनिजले महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गरेको थियो। पत्रकार महासङ्घको आधिकारिक दस्ताबेजहरूमा भने संस्थापक अध्यक्षको रूपमा कृष्णप्रसाद भट्टराई उल्लेख छ। संस्थापक अध्यक्ष को हो भन्नेबारे विवाद पुरानै भए पनि महासंघको केन्द्रले  नटुङ्ग्याउँदा महासङ्घ प्रतिष्ठान प्रदेशले गरेको कार्यक्रम नै भाँडियो।

भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रम हुन नदिन फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित भएनन्।

फोनिज र महासंघका प्रतिनिधिबिच भएको छलफलमा संस्थापक अध्यक्षबारे अध्ययन गरेर विवाद टुङ्ग्याउने मौखिक सहमति भएपछि निर्धारित कार्यक्रम एक घण्टापछि सुरु भएको थियो। कार्यक्रममा फोनिजका प्रतिनिधीहरुले पुस्तकको सामाग्रीको अध्ययनपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताएपछि कार्यक्रम अगाडि बढ्यो।

पुस्तकमा महिलालाई स्थान नदिएको भन्दै आलोचना भएपछि आयोजकले पत्रकार महासंघका अध्यक्ष र सभापतिहरूबारे लेखिएको र हालसम्म कुनै महिला पत्रकार अध्यक्ष नभएकाले समेट्न नसकिएको धारणा राखेपछि कार्यक्रममा सहभागीहरू सहमत देखिए।

कार्यक्रममा किशोर नेपाल, हरिहर विरही, प्राध्यापक रामकृष्ण रेग्मी अनि महासंघका अध्यक्ष विपुल पोखरेलले इतिहास अध्ययन र अनुसन्धानबाट थप प्रमाण फेला परेमा संशोधन हुँदै जाने धारणा राखेका थिए।

पत्रकार नेपालले पत्रकार महासङ्घको नेतृत्वबारे लेखिएको पुस्तकबारे नानाथरी टिप्पणी भएकोमा आफूलाई दिक्क लागेको भन्दै भने’ यो राम्रो काम हो। तर विवाद निकाल्ने हाम्रो बानी भइसक्यो।‘

हरिहर विरहीले वाक तथा प्रेस स्वतन्त्रको पक्षमा संघहुँदै पत्रकार महासंघसम्मको नेतृत्व गरेका अग्रजहरूबारे पुस्तक लेखिएकोमा खुसी लागेको भन्दै संस्थापक अध्यक्ष को हो लगायतका विषयमा अन्योल हो भने अध्ययन र प्रमाणको आधारमा संशोधन गर्न सकिने र संशोधन गर्नुपर्ने धारणा राखेका थिए।

पत्रकारिताका प्राध्यापक रेग्मीले प्रेस तथा वाक स्वतन्त्रताबारे केही लेख्ने प्रयास गर्दा नेपाली सामाग्री नै फेला नपर्ने अवस्थामा महासङ्घको प्रतिष्ठान प्रदेशले महासङ्घको नेतृत्व गरेका २३ जनाबारे प्राप्त दस्ताबेज र कुराकानीको आधारमा लेखिएको पुस्तक उपयोगी भएको बताएका थिए।

पुस्तकमा समेटिएका महासंघका नेतृत्वकर्ताहरूका आधारमा पञ्चायतकाल, प्रजातन्त्रहुँदै लोकतन्त्रसम्मको अवस्थाबारे जानकारी पाउन सकिने गहकिलो काम भएको भन्दै उनले पुस्तकमा कुनै कमजोरी भए प्रमाणका आधारमा संशोधन गर्न सकिने बताएका थिए।

सञ्चारीका समूहकी उपाध्यक्ष पवित्रा सुनार अनि नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलोजा दाहालले पुस्तकमा महिला नसमेटिएकोमा प्रारम्भमा आफूलाई पनि राम्रो नलागेको तर महासङ्घको अध्यक्ष र सभापति भएका २३ जनाबारे लेखिएको जानकारी पाएपछि भने अन्योल हटेको बताएका थिए।

‘अहिलेसम्म पत्रकार महासङ्घको नेतृत्वमा महिला पुग्न सकेका छैनन्। विगतको कमजोरी सच्याउने भविष्यमै हो। अबको महासङ्घको अधिवेशनबाट महिलालाई नेतृत्वमा पुर्याएर यो कमजोरी हटाउन प्रयत्न गरौँ’ दाहालले भनिन्।

महासंघका अध्यक्ष पोखरेलले संस्थापक अध्यक्ष को हो भन्ने विषयमा देखिएको विवाद तत्काल समाधान गर्न पहल गरिने वाचा गरेसम्म फोनिजका प्रतिनिधिहरू शान्तसँगै कार्यक्रम हलमा बसेका थिए। जब पुस्तक विमोचनको प्रक्रिया सुरु भयो फोनिजका प्रतिनिधिसहितको समूह आक्रामकहुँदै मञ्चमा उक्लिएर पुस्तक खोसेर च्यात्न थाले।   

कार्यक्रममा सहभागी अग्रज पत्रकारहरू नमिठो अनुहार लगाउँदै कार्यक्रम हलबाट बाहिरिए।

माघ २८, २०८० आइतबार १४:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।