विराटनगरमा ट्रकको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएपछि आगजनी

विराटनगरमा ट्रकको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएपछि आगजनी

विराटनगर : ट्रकको ठक्करबाट आइतबार बिहान विराटनगरमा एक सरकारी कर्मचारीको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीमा भएको दुर्घटनामा इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको हो।

बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ घर भएका इलाका प्रशासनका कर्मचारी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार उनकी भतिजी १६ वर्षीया सोस्था चौधरी घाइते भएकी छन्। उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेका थिए। दमकल प्रयोगले प्रहरीले आगो निभाएको थियो।

माघ २८, २०८० आइतबार १२:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।