‘सतीदेवी’बाट ढुक्क निर्देशक लक्ष्मण, विदेशको प्रदर्शन सकेपछि नेपालको पालो
काठमाडौं : रङ्ग पत्रकार लक्ष्मण सुवेदी यतिखेर आफ्नो फिल्म ‘सतीदेवी’को प्रचारमा छन्। प्रदर्शन मिति नतोकिए पनि उनले फिल्मको प्रचारलाई भने निरन्तरता दिइरहेका छन्।
विदेशमा रहेका नेपालीहरूको लागि फिल्मको प्रचारमा दौडिएको उनी बताउँछन्। फिल्म पहिला विदेशमा प्रदर्शन गरेपछि मात्र नेपालका हलमा लगाउने उनको तयारी छ।
एक महिनाअघि फिल्मको पोस्टर सार्वजनिक गरेपछि प्रशंसा बटुलेका सुवेदी फिल्मबाट निकै उत्साहित छन्।
मलिका महतलाई केन्द्रीय भूमिकामा राखेर निर्माण गरिएको फिल्मको फस्टलुकमा अभिनेत्री महतलाई गाउँलेहरूले लखेटिइरहेको देखाइएको छ।
मौलिक यथार्थताको सर्वव्यापी समस्यालाई उठान गरेकाले फिल्मप्रति शतप्रतिशत विश्वस्त रहेको लेखक तथा निर्देशक सुवेदी बताउँछन्।
उनले भने, ‘सेन्सर सदस्यहरू, सौराह फिल्म फेष्टिभलमा हेर्नुभएका जुरी, दर्शकबाट पाएको अत्यन्तै सुन्दर प्रतिक्रियाबाट म आफ्नो फिल्मप्रति शतप्रतिशत विश्वस्त छु।’
फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। लक्ष्मणले अर्को वर्षको शिवरात्रीको दिनको पारेर फिल्म ‘पार्वती’ प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्।
माघ २८, २०८० आइतबार ११:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।