बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, भनिन्- ‘मैले गल्ती गरेँ’

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, भनिन्- ‘मैले गल्ती गरेँ’

एजेन्सी : हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी दिएकोमा खेद प्रकट गर्दै राजीनामा दिएकी छन्।

राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको गत हप्ता मात्र खुलेको थियो।

उनको निर्णयपछि हंगेरीमा विरोध बढ्दै गएर राजीनामा समेत मागिएको थियो। नोभाकले टेलिभिजन सम्बोधनका क्रममा आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै माफी दिनु आफ्नो गल्ती भएको स्वीकार गरेकी छन्।

माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्याय मन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन्।

गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेका थिए। यी २५ कैदीको नाम गत हप्ता सार्वजनिक गरिएको थियो।

तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनले बालआश्रय केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए।

यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ।

माघ २८, २०८० आइतबार १०:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।