नेपाल व्यवस्थापन संघद्वारा विभिन्न विधामा अवार्ड वितरण, 'युथ आईकन रिकग्निशन अवार्ड' पौडेललाई

नेपाल व्यवस्थापन संघद्वारा विभिन्न विधामा अवार्ड वितरण, 'युथ आईकन रिकग्निशन अवार्ड' पौडेललाई

काठमाडौं : नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम् योगदान र नेतृत्व प्रदान गरे बापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघद्वारा 'युथ आईकन रिकग्निशन अवार्ड २०२३' प्रदान गरिएको छ।

संघको ४३ औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई उक्त अवार्ड प्रदान गरेका हुन्।

नेपालमा वैकल्पिक तथा नवीनतम् लगानी तथा उद्यमशीलताको क्षेत्रमा सरकार, निजी क्षेत्र र विकास साझेदारबीच अद्वितीय साझेदारी बनाउन उनले देखाएको उदाहरणीय व्यवस्थापकीय शैलीलाई सम्मानित गरेको संघले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका सभापति समेत रहेका पौडेलले विश्वका विभिन्न प्लेटफर्ममा नेपालको निजी क्षेत्रको तर्फबाट नेपाललाई लगानीको गन्तव्यका रुपमा कुशलतापूर्वक प्रस्तुत गर्न खेलेको उनको भूमिकालाई समेत संघले सम्मानित गरेको हो।

नेपालमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका युवा प्रतिभालाई यस वर्षबाट नयाँ विधामा सम्मान गर्न सुरू गरेको संघले म्यानेजमेन्ट अफ दी इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी, वुमन म्यानेजर रिकग्निशन अवार्ड आरती चटौत र लाइफ टाइम कन्ट्रिब्युशन अवार्ड पद्यलाल श्रेष्ठलाई प्रदान गरेको छ।

माघ २७, २०८० शनिबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।