‘लाखौं लाख जनताको अगाडि भन्दै छु, मन्त्रिमण्डल पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’

‘लाखौं लाख जनताको अगाडि भन्दै छु, मन्त्रिमण्डल पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको भन्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उनले गत वर्ष पनि आफूले सोनाम ल्होसारको अवसर पारेर घोषणा गरेअनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाइएको स्मरण गराए।

‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए। मन्त्री बन्नु त भयो। प्रदेशमा बन्नुभयो। र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो’, उनले भने, ‘म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ। म यो लाखौं लाख जनताको अगाडि भन्दैछु। अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै, हुन्छ। पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। तपाईँ लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु।’

आफूहरूले पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धिहरू प्राप्त गरी छोड्ने उनले विश्वास समेत व्यक्त गरे।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होसारका निम्ति सरकारले यो वर्ष पनि सहयोग गर्ने आश्वासन दिए। गत वर्षको ‘पेमेन्ट’ नभएको आफूले जानकारी पाएकाले त्यसको पनि ‘फलोअप’ गर्ने उनको भनाइ थियो।

 

माघ २७, २०८० शनिबार १७:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।