एक खेल अगावै नेपालले जित्यो क्यानडा विरुद्धको सिरिज
काठमाडौं : क्यानडा विरुद्धको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि विजयी भएसँगै यो सिरिजको उपाधि नेपालले हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडालाई ४ विकेटले हराउँदै एक खेल अगावै नेपालले सिरिज जितेको हो।
सिरिजको दोस्रो खेलमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको थियो। २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे। यसअघि टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो।
क्यानडाको ब्याटिङमा आरोन जोन्स र नवनीत ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर राम्रो सुरुआत गरेका थिए। डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी उक्त साझेदारी तोडेका थिए।
ढालिवालले ६० बल खेल्दा ८ चौकासँगै ४६ रन बनाए। जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए।
प्रगत सिंहले ३८, निकोलस कीर्तनले २०, हर्ष ठाकेर ३, दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदले १३ रन बनाएका थिए।
श्रेयस मोभ्भाले ४० र भगवानले २२ जोडेका थिए।
बलिङतर्फ नेपाली टिमका रोहित र कुशलले २-२ विकेट लिए भने सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १-१ विकेट लिए।
नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई शनिबार प्लेयिङ ११ बाहिर राखेको थियो।
दोस्रो एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल नेपालले जितेको छ। पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।
तेस्रो खेल सोमबार हुनेछ।
माघ २७, २०८० शनिबार १७:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।