फिल्म समीक्षा : सौगात र दयाहाङका फ्यानका लागि ‘हात्तीछाप’ त फुस्सा, छरपस्ट कथा कोच्चाएरै हैरान
दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’देखि ‘ऐँचो पैँचो’ हुँदै ‘दिमाग खराब’सम्म आइपुग्दा नेपाली फिल्मका कथा राजनीति वरिपरि घुम्न थालेको देखिन्छ। स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जित अनि नयाँ दलको अनपेक्षित प्रभावले नयाँ कन्टेन्ट दियो फिल्म बनाउन।
राजनीतिले नयाँ धार समात्ने प्रयास गरिरहेको छ। तर फिल्मले उठाउने विषयवस्तु भने उही परम्परावादी नै देखिन्छन्। नेताले चुनाव नजितुञ्जेल अनेक वाचा गर्ने अनि जब चुनाव जित्छन् तब बेपत्ता हुने कथाको पुरानै फ्रेम हो। हिजो गाउँका मुखियाको पात्रले फिल्ममा यसको प्रतिनिधित्व गर्थे, अहिले कतै मास्टर त कतै मेयरको चरित्र निर्माण भइरहेका छन्। पात्रको स्वरूप परिवर्तन भयो, तर कथ्य शैली र चरित्र निर्माण उही मुखियाभन्दा अगाडि बढ्न सकेको देखिएन।
शुक्रवार रिलिज भएको फिल्म ‘हात्तिछाप’ पनि यस्तै राजनीतिक सेरोफेरोमा घुमेको फिल्म हो। सिमोस सुनुवारले यो फिल्ममा पनि गाउँको सोझो र इमानदार व्यक्तिको नाम भजाएर राजनीतिक दलका नेताले भोट माग्न लगाउने अनि जितेपछि केही नगर्ने उही पुरानै सूत्रको कथा पस्किएका छन्। फिल्ममा कथा, रचनात्मकता र चरित्र निर्माण नै बेपत्ता भएको छ।
लिभिङ टुगेदर, पुर्खाको साखमा घमन्ड गरिरहेका पुस्ता, प्रेम धेरै विषयको उठान गर्न खोजेको फिल्म फिक्का छ। कथालाई बगाउन निर्देशक असफल भएका छन्। दर्शकलाई हँसाउन जवर्जस्ती कमेडी सिनहरू राख्दा कोच्याए समान अनुभव हुन्छ। ती सिनहरूले दर्शकको मुड फ्रेस हैन कि वाक बनाउँछ।
फिल्मको कथा नै लठबद्र छ। संवाद निरस। फिल्म हेर्दा कतिपय सिन काटेको अनि कतिपय सिन अनावश्यक राखेको फिल्मबारे सामान्य ज्ञान भएका दर्शकले पनि भेउ पाउँछन्। फिल्मको नाम सार्थक देखाउन हजार रुपैयाँको नोटमा भएको हात्तीको तस्बिरको सहायता लिइएको छ। तर निर्देशक यसमा सफल भएका छैनन्।
फिल्मका मुख्य पात्र अमरबहादुर मगर (दयाहाङ राई) गाउँको सोझो केटो। उसले भनेको गाउँलेले हत्तपत्त नकार्दैनन्। उसैको आडमा छलबहादुर रोक्का (विजय बराल)ले चुनाव जित्छन्। विकासमार्फत गाउँको मुहार फेर्ने र राम्रो स्कुल बनाउने सपना बाँडेका छलबहादुर मन्त्री बन्छन् र आफ्नै वाचामा छल गर्छन्।
दोष आइलाग्छ अमरलाई। अमर मन्त्री बनेका छलबहादुर भेट्न काठमाडौँ आएपछि के कसो हुन्छ?,फिल्म त्यसै वरपर घुमेको छ।
फिल्ममा सौगात मल्ल बोतलराजा बनेका छन्। उपासना सिंह ठकुरी स्कुलको शिक्षिका तथा दयाहाङकी प्रेमिका लक्ष्मीको भूमिकामा छिन्। विल्सन विक्रम राई लाहुरे बलबहादुर गुरुङको चरित्रमा छन्।
बोतल राजाको भूमिकामा रहेका सौगातको अभिनय ठिकठिकै पाराको छ। पुष्कर गुरुङ, भोलाराज सापकोटा र विजय बराल नेताको चरित्रमा फिट देखिएका छन्। बेनिशा आफ्नो भूमिकामा ठिकै देखिएकी छिन्।
फिल्म कुन जनराको? सामाजिक कि सस्पेन्स कि हाँस्य प्रधान? निर्देशक नै अलमलमा भएपछि दर्शक पनि अलमलिने भए नै। दयाहाङ र उपासनाको प्रेमकथा अति फितलो छ। यी दुवैको मिलन हुँदा पनि दर्शकलाई छुँदैन, बिछोडमा दर्शकको मन कटक्क खाँदैन।
फिल्मको सुरुवात देखि अन्तसम्मै गाउँमा पानी मात्र परेको देखाइएको छ। २०७२ सालको भुकम्पलाई प्रस्तुत गरिएको फिल्ममा नेताको वाचा र गाउँको अवस्था देखाउन छाना चुहाउन मात्रै पानी पारिएको देखिन्छ।
भुकम्पले दिएको दुख देखाउने सङ्केत छाना चुहिनु मात्रै हो त? चुनाव जितेर नेता मन्त्री भइसक्दा पनि पानी परेको मात्र दृश्य राख्दा फिल्मको व्यापारमा पनि पानी पार्ने जोखिम बढाएका छन् निर्देशकले।
लाहुरेप्रति गाउँलेको क्रेज एकादेशको अवस्था हो। अहिले लाहुरे हैन पिआरधारीको क्रेज छ। प्रेममा वियोग मिसाउन विल्सनविक्रमको लाहुरे क्यारेक्टर झुर छ। लाहुरेको चरित्रमा यूट्युवरको जस्तो क्यारेक्टर ल्याएर मिसाउँदा सक्खरमा तीते करेला मिसाएजस्तै अर्थ न बर्थ भएको छ।
सौगात मल्लले झ्याउँलाग्दो लाउड चरित्रलाई यसमा पनि निरन्तरता दिएका छन्। भष्मे डनमा सुधारिएको उनको चरित्र हात्तिछापमा आएर फुस्सा भएको छ। राणाको बिग्रिएको छोराको क्यारेक्टरमा फिट हुन उनले निर शाहको बोल्ने शैलीको सहायता लिँदा क्यारिकेचर जस्तो सुनिन्छ। बरु निर शाहलाई नै अभिनय गराएको भए सौगातको भन्दा गलितै देखिन्थ्यो होला।
फिल्मको ब्याकग्राउड म्युजिक अलिक झर्को लाग्दो सुनिएको छ। भूतको आवाज सुनाउँदा दर्शक न हाँस्छन्, न डराउँछन्। ह्या के फिल्म बनाएको होला भन्ने मात्र पार्छ। फिल्मको खिचाई र सम्पादन ठिकठिकै देखिएका छन्।
फिल्मको बलियो पक्ष क्लाइमेक्स हो। यसमा दर्शकको ध्यान तानिन सक्छ। तर त्यसका लागि फिल्मले प्रारम्भदेखि नै दर्शकको ध्यान तान्न सक्नुपर्छ। दर्शकको ध्यान तानिरहने गुणस्तरको फिल्म नभएकाले फिल्मको बलियो पक्ष क्याइमेक्समा दर्शक अलमलिने जोखिम छ।
समग्रमा सौगात र दयाहाङले संगै अभिनय गरेको अर्को फिल्म त आयो तर फुस्सा’ समान बन्यो हात्तिछाप। यो सिमोसको निर्देशन करिअरमा सबैभन्दा झुर फिल्मको रूपमा सूचीकृत हुनसक्ने देखिन्छ। हैन अर्को यो भन्दा झुर फिल्म निर्देशन गर्छु भन्ने हो भने दर्शकले भन्ने त 'राम राम' न हो।
सामान्य दर्शक कुरा छाडौँ, सौगात र दयाहाङका फ्यानका लागि समेत बिर्सन लायक फिल्म हो यो। यी दुवै अभिनेतामा इमान छ भने झुर फिल्ममा अभिनय गरेकोमा आफ्ना प्रशंसकसँग माफी माग्दा फरक पर्दैन।
माघ २७, २०८० शनिबार १६:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।