नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता, हप्तामा २८ उडान हुने

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता, हप्तामा २८ उडान हुने

काठमाडौँ : युरोपेली मुलुक स्विट्जरल्यान्ड र नेपालबीच हवाई सेवा सम्झौता भएको छ।

नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच हालै भएको सम्झौता अनुसार दुवै मुलुकबीच सातामा २८ उडान हुने गरि सम्झौता गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए।

उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नु पर्नेछ।

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ।

‘अहिलेलाई दुई-दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ। तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ,’ सहसचिव लामिछानेले भने।

यो सँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ।

यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो।

सरकारले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ। रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

माघ २७, २०८० शनिबार १६:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।