रूसी सेनामा नेपाली : १२ जनाको मृत्यु भइसक्दा १४० जनाद्वारा उद्वारका लागि आवेदन

रूसी सेनामा नेपाली : १२ जनाको मृत्यु भइसक्दा १४० जनाद्वारा उद्वारका लागि आवेदन
फाइल फोटो

काठमाडौं : रूसी सेनामा भर्ना भएका नेपालीमध्ये हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार पाँचजना युक्रेनी सेनाको कब्जामा छन्।

यसै क्रममा कन्सुलर सेवा विभागमा करिब १४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्।

यसबाहेक के कति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन्, युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन।

मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको छ।

रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए।

उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको र नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रूस सरकारलाई समेत अनुरोध गरिएको बताए।

माघ २७, २०८० शनिबार १६:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।