‘सिम्पल सिम्पल कान्छी’ गीतको सिक्वेलमा किरण र दीपा नचाउँदा पनि किन यति झुर!

‘सिम्पल सिम्पल कान्छी’ गीतको सिक्वेलमा किरण र दीपा नचाउँदा पनि किन यति झुर!

काठमाडौं : नेपालमा युट्युब प्लेटफर्मको विकसित भएसँगै एउटा परम्परा जस्तै बनेको ट्रेन्ड हो- सिक्वेल बनाउने।

एक समयमा राम्रो ख्याति कमाएका गीतहरू अलि समय बित्नासाथ भाग-२ भन्दै सिक्वेल बनाउन हतारिन्छन् मेकरहरू। चाहे फिल्म होस् या गीत, चाहे फिल्मका गीत हुन् वा अन्य विधाका गीत अलिकति चल्नु मात्र पर्छ सिक्वेल बनिहाल्छन्।

पहिलो गीत हिट भएपछि यसैको नाममा दोस्रो भाग पनि चल्छ भन्ने मानसिकता नेपाली संगीतकर्मीमा देखिएको छ।

१५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग शुक्रबार सार्वजनिक गरिएको छ।

पहिलो गीतलाई नै मेसो पारेर निर्माण टिमले ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ बोलको गीत बनाएको छ। जसमा जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको सुन्न सकिन्छ।

नित्या शिवा र राजन श्रेष्ठको स्वर रहेको यो गीत पुरानो गीत जस्तो मिठास लाग्दैन।

शङ्कर अधिकारी ‘घायल’कै शब्द रचना रहेको गीतमा बाबुल गिरीले संगीत एवं एरेन्ज गरेका छन्।

यसअघिको गीतको दीपक लिम्बू र माण्डवी त्रिपाठीले गाएका थिए। जुन गीत मेलापात तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा चल्तीको गीत बनेको थियो।

यस गीतका मेकरले पुरानो गीतलाई सिक्वेल बनाएर चर्चा बटुल्ने अपेक्षा त गरे नै त्यसमा पनि गीत बिक्छ भनेर अर्को चलाखी गरे, अनुहार बिक्ने कलाकार राखेर।

शुक्रबार युटुबमा राखिएको गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरू रियान खड्का र प्रनिता रोकायाले अभिनय गरेका छन्। तर पनि गीतको भिडियो युटुबमा अहिलेसम्म १ लाख ४० हजार बढी पटक मात्रै हेरिएको छ।

माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृंगार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ।

माघ २७, २०८० शनिबार १५:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।