सीमा क्षेत्रको व्यापार सहज बनाउन सरकार सक्रिय : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याउन सरकार सक्रिय रहेको बताएका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभाको उद्घाटन गर्दै शनिवार उनले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए।
आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि नेपाल–चीनबिचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ।
गत असोजमा सम्पन्न चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको उनको दाबी थियो।
“चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री प्रचण्डले भने,' भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएकाले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ।'
चीन भ्रमणको बेलामा सन् १९८१ को नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर भएको, हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता लगायतका दर्जनौँ विषयमा भएका सम्झौताले सीमापार व्यापार प्रवर्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्ने उनले बताए।
माघ २७, २०८० शनिबार ११:५६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।