एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ आठ विकेटले पराजित

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ आठ विकेटले पराजित

काठमाडौं : एसीसी महिला प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध नेपालले आठ विकेटको सहज जित निकालेको छ।

९४ रनको लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४० रन जोडिन्।

कविता कुँवर ४ रनमा आउट हुँदा सीता राना मगरले अविजित ३६ रन बनाइन्।

हङकङका इकारा शहर र बेट्टी चनले समान एक–एक विकेट लिए।

त्यसअघि मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनायो।

उसका लागि कप्तान क्यारी चानले सर्वाधिक २१ रन बनाउँदा मर्यम बीबीले  १९, यश्मिन दशवानीले १५ र नताशा माइल्सले ११ रन जोडे।

नेपालकी पूजा महतो र रुबिना क्षेत्री समान दुई–दुई विकेट लिँदा कविता जोशी र सीता रानामगरले समान एक–एक विकेट लिए।

१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भोलि भुटानसँग र तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ।

प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्। प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।

माघ २७, २०८० शनिबार १०:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।