नेपालले टस हार्यो, कुशल र ललितसँगै आरिफ पनि बेन्चमा
काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ।
टस जितेर कप्तान साद बिन जफरले पहिलो ब्याटिङ रोजेसँगै नेपाल बलिङमा तानिएको हो।
दोस्रो खेलमा नेपालले टोलीमा तीन परिवर्तन गरेको छ। आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन्।
कुशल भुर्तेल, आरिफ शेख र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ।
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो।
उक्त जितसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ। आजको खेल जितेमा नेपालले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पार्नेछ।
शनिबारको दिन भएर नेपाल क्रिकेट संघ (क्यान)ले खेलको टिकट मूल्य पनि घटाएको छ।
बिहीबार २५० रुपैयाँमा बिक्री भइरहेकोमा शनिबारका लागि विशेष अफर भन्दै क्यानले टिकट मूल्य ५० रुपैयाँले घटाएको हो।
अब आइएमई पेबाट दोस्रो खेलको टिकट काट्दा २ सय रुपैयाँ मात्र तिर्नुपर्नेछ। तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएर टिकट काट्दा तीन सय रुपैयाँ पर्नेछ।
सोमबार हुने तेस्रो तथा अन्तिम खेलको टिकट मूल्य अनलाइनमा २५० रुपैयाँ नै कायम छ।
आईसीसी विश्वकप लिग-२ को तयारी स्वरुप नेपालले क्यानाडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिज आयोजना गरेको हो।
सोमबार क्यानडासँगको सिरिज सकिनेबित्तिकै नेपालले बिहीबारदेखि लिग २ सिरिज खेल्नेछ।
लिग-२ सिरिज अन्तर्गत नेपालले पहिलो खेल बिहीबार नामिबियाविरुद्ध छ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
माघ २७, २०८० शनिबार ०९:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।