क्यानडाविरुद्धको सिरिजको दोस्रो खेल आज, नेपाललाई एक खेल अगावै उपाधि जित्ने अवसर

क्यानडाविरुद्धको सिरिजको दोस्रो खेल आज, नेपाललाई एक खेल अगावै उपाधि जित्ने अवसर

काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ।

खेल नेपाली समयअनुसार विहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो।

उक्त जितसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ। आजको खेल जितेमा नेपालले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पार्नेछ।

शनिबारको दिन भएर नेपाल क्रिकेट संघ (क्यान)ले खेलको टिकट मूल्य पनि घटाएको छ।

बिहीबार २५० रुपैयाँमा बिक्री भइरहेकोमा शनिबारका लागि विशेष अफर भन्दै क्यानले टिकट मूल्य ५० रुपैयाँले घटाएको हो।

अब आइएमई पेबाट दोस्रो खेलको टिकट काट्दा २ सय रुपैयाँ मात्र तिर्नुपर्नेछ। तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएर टिकट काट्दा तीन सय रुपैयाँ पर्नेछ।

सोमबार हुने तेस्रो तथा अन्तिम खेलको टिकट मूल्य अनलाइनमा २५० रुपैयाँ नै कायम छ।

आईसीसी विश्वकप लिग-२ को तयारी स्वरुप नेपालले क्यानाडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिज आयोजना गरेको हो।

सोमबार क्यानडासँगको सिरिज सकिनेबित्तिकै नेपालले बिहीबारदेखि लिग २ सिरिज खेल्नेछ।

लिग-२ सिरिज अन्तर्गत नेपालले पहिलो खेल बिहीबार नामिबियाविरुद्ध छ।

माघ २७, २०८० शनिबार ०७:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।