कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ।

विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएको जानकारी गराइएको हो।

दुई पक्षबीच प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने सहमति भएको छ।

यस्तै आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति समेत भएको छ।

पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने तथा फागुन १० गतेभित्र बस्ने गरी अर्को वार्ताको समय र स्थान निर्धारण गर्ने सहमति पनि छलफलपछि भएको छ।

२६ माघ, २०८०, १३:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।