पाकिस्तान निर्वाचन : खैबर पख्तुनख्वामा इमरान खानका उम्मेदवार अगाडि, नेशनल एसेम्बलीमा नवाज सरिफको अग्रता

पाकिस्तान निर्वाचन : खैबर पख्तुनख्वामा इमरान खानका उम्मेदवार अगाडि, नेशनल एसेम्बलीमा नवाज सरिफको अग्रता

एजेन्सी : पाकिस्तानमा बिहीबार नेशनल एसेम्बली चार प्रदेश पञ्जाब, सिन्ध र खैबर पख्तुनख्वामा प्रान्तीय निर्वाचनका लागि भएको मतदानपछि मतगणना भइरहेको छ। नौ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो।

पाकिस्तानको निर्वाचन आयोगले हालसम्म गरेको घोषणा अनुसार ८१ प्रान्तीय सिटको नतिजा आएको छ।

खैबर पख्तुनख्वामा इमरान खानको पार्टी ‘तेहरिक-ए-इन्साफ’ले समर्थन गरेका उम्मेदवारहरू अगाडि छन् भने सिन्धमा बिलाल भुट्टो जरदारीको पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ले अग्रता लिएको छ।

पञ्जाबमा ‘पाकिस्तान मुस्लिम लिग-नवाज’ पार्टीले केही सिट जितेको छ भने केही सिटहरू पीटीआई समर्थित उम्मेदवारले जितेका छन्। यद्यपि, यी परिणामहरू अन्तिम भने होइनन्।

हालसम्म आएको नतिजा अनुसार पीटीआई समर्थित उम्मेदवारले खैबर पख्तुनख्वामा ३६ सिट जितेका छन्। पीएमएलएनले दुई र जमियत-उलेमा-ए-इस्लामले एक सिट जितेको छ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार पीएमएल-एनले पञ्जाब विधानसभामा ८ सिट जितेको छ। पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार बिलावल भुट्टोको पार्टी पीपीपीले सिन्ध प्रान्तमा २८ सिट जितेको छ।

नेशनल एसेम्ब्लीमा भने नवाज सरिफको पार्टीले अग्रता बनाएको छ। ‘पाकिस्तान मुस्लिम लिग-नवाज’ले १३ सिटमा अग्रता बनाउँदा, इमरान खानको ‘तेहरिक-ए-इन्साफ’ले १० र बिलाल भुट्टो जरदारीको ‘पाकिस्तान पिपुल्स पार्टी’ले ८ सिटमा अग्रता बनाएको छ।

माघ २६, २०८० शुक्रबार १२:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।