तस्करीमा जोडिएका कृष्णबहादुर र भीमकान्तसँग सुन छानबिन समितिको बयान

तस्करीमा जोडिएका कृष्णबहादुर र भीमकान्तसँग सुन छानबिन समितिको बयान

काठमाडौँ : सुन तस्करीको अध्ययनका लागि सरकारले गठन गरेको छानबिन समितिले पूर्व सभामुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।

भेपमा लुकाएको भएको नौ किलो सुन र अर्को ६० किलो सुन तस्करीमा भण्डारी जोडिएका थिए। महरालाई भेपमा लुकाएर भएको सुन तस्करीमा जोडिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान गरेर छाडेको थियो। भेप सुन तस्करीमा उनको छोरा राहुल पुर्पक्षका लागि कारागारमै छन्।

सुन तस्करीको घटना बढेपछि सरकारले छानबिन गर्न समिति नै गठन गरेको थियो। विध ल्याबका भण्डारी र महरासँग यस अगाडि नै सीआइबीले समेत बयान लिए पनि  प्रतिवादी बनाएको थिएन।

सुन तस्करीमा जोडिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको पटक–पटक सम्पर्क भएको देखिएको थियो। शङ्कास्पद सम्बन्ध देखिएका भण्डारीलाई ब्युरोले सुन तस्करीको प्रतिवादी बनाएन। भण्डारी कोरोनाकालको खोप लगायतका सामानको कालोबजारीमा समेत जोडिएका पात्र हुन्। उनीसँग माओवादीका उच्चतहका नेताहरूको घनिष्ठ सम्बन्ध समेत खुलेको थियो।

महरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको भेप प्रकरणमा तानिएका थिए। चिनिया तस्कर समूहले सुन लुकाएर ल्याएको भेप भन्सारका कर्मचारीले चोरेर विक्री गरेका थिए।

त्यसको अनुसन्धानमा महरा बाबु-छोरा नै तानिएका थिए। तर ब्युरोले उनीहरूसँग सामान्य बयान समेत नलिएको खुलासा भएपछि पुन दोस्रो चरणमा अनुसन्धान गरेको थियो। दोस्रो चरणको अनुसन्धानबाट राहुल अभियुक्त बने तर कृष्णबहादुर र दीपेश पुन लगाएकाहरुले पुन उन्मुक्ति पाए।

समितिले दुबैजनालाई बयानमा लागि सिंहदरबारमा रहेको कार्यालयमा बोलाएर डेढ घण्टाबढी समय केरकार गरेको थियो। 

माघ २५, २०८० बिहीबार १६:४६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।