२९औं क्यान इन्फोटेक मेला आजदेखि, विभिन्न कम्पनीका १ सय २० वटा स्टल

२९औं क्यान इन्फोटेक मेला आजदेखि, विभिन्न कम्पनीका १ सय २० वटा स्टल

काठमाडौँ : सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले २९ औं सँस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरू भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपमा आजदेखि मेला सुरू गरिएको हो। क्यानका अनुसार बजार बिस्तार तथा उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै मेला आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको क्षेत्रमा डिजिटल फ्रेमवर्क अंगीकार गरेको जिकिर गरिन्। उनले सूचना प्रविधिसम्बन्धी ८ क्षेत्रको विकास गर्न सरकार र निजी क्षेत्रको समन्वय अनिवार्य हुने बताइन्।

उनले भनिन्, ‘निजी क्षेत्र र सरकार बीचको समन्वयमा सरकारले लिएको ८ वटा क्षेत्र डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन अर्थ र सहरी पूर्वाधारलाई विकास गरेर प्रविधिको क्षेत्रमा ठूलो सफलता हासिल गर्न सकिन्छ।’

मेलामा विभिन्न कम्पनीका १ सय २० वटा स्टल रहेका छन् भने स्टार्टअप, युवा प्रतिभा, नव प्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ।

इन्फोटेकमा राखिने प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास भएका सामग्रीले डिजिटल नेपाल निर्माणको अभियानलाई मद्दत पुग्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

मेला अवलोकनका लागि सर्वसाधारणलाई १ सय रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ शुल्क तोकिएको छ। मेला आगामी माघ ३० गते सम्म सञ्चालन हुने छ।

माघ २५, २०८० बिहीबार १६:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।